काठमाण्डौ । भोटखोला गाउँपालिकामा बन्ने १ हजार ६३ मेगावाट क्षमताको अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनाको बाँधस्थलसम्म पुग्ने २१ किलोमिटर पहुँचमार्ग निर्माण सुरु भएको छ ।
पहुँचमार्ग निर्माणका लागि जग्गा अधिग्रहण गरेर २ हजार १ सय रुख कटान भइसकेको छ । हेलिकप्टरबाट निर्माण सामग्री ढुवानी गरी पहुँचमार्ग निर्माण थालिएको हो । आयोजना निर्माण गर्न चार सय १३ रोपनी जग्गा अधिग्रहण गरिसकिएको छ ।
भोटखोला गाउँपालिका–२ र ४ नम्बर वडाका राष्ट्रिय वन र सामुदायिक वनका रुख कटानका लागि रु १३ करोड ६५ लाख राजस्व वन विभागमा भुक्तानी भइसकेको छ । उक्त क्षेत्रमा जग्गाको मूल्य प्रतिरोपनी रु १ लाख ५० हजार तोकिएको थियो । आयोजना सञ्चालनका क्रममा विकास सम्झौता (पिडिए)ं अनुसार रुख कटान भए पनि बिरुवा अर्को ठाउँमा रोपिने छन् । आयोजनाले बिरुवा रोप्न, हुर्काउन र बढाउन रु १३ करोड ६५ लाख वन विभागलाई भुक्तानी गरिसकेको छ ।
पहुँचमार्गमा पर्ने अरुण नदी र चेपुवामा पक्की पुलसमेत निर्माण गरिनेछ । भोटखोला गाउँपालिका–४ छोराङदेखि भोटखोला–२ रुकुमा फेदीसम्म मार्ग निर्माण हुनेछ । पहुँचमार्ग निर्माण गर्न ७ अर्ब ९१ करोड ३९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।