काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको क्यानडा र चीन लगायतका देशमाथि ट्यारिफ लगाउने निर्णयको प्रभाव देखिन थालेको छ । जापानको अटो निर्माता कम्पनीले ट्यारिफबाट बच्नका लागि मेक्सिकोमा उत्पादन गर्ने भनिएको ‘सिभिक हाईब्रिड’को उत्पादन रद्द गरी अमेरिकाको इण्डियाना राज्यमा गर्ने निर्णय गरेको छ ।
सिभिक हाईब्रिड कम्पनीको सर्वाधिक बिक्री हुने मोडलमध्ये एक हो । कम्पनीको यो निर्णयले क्यानडा र मेक्सिको माथि डोनाल्ड ट्रम्पले घोषणा गरेको २५ प्रतिशतको ट्यारिसलाई कम्पनीहरुले कसरी आत्मसाथ गरिरहेका भन्ने प्रष्ट पारेको जनाइएको छ । थुप्रै अटो निर्माताहरुले ट्रम्पले घोषणा गरेको ट्यारिफको विषयमा चिन्ता प्रकट गरिरहेका बेला होन्डाले नयाँ उपायका साथ यस्तो कदम चाल्ने पहिलो कम्पनी बनेको छ ।
यस विषयमा कम्पनीले थप केही जानकारी उपलब्ध गराएको छैन । जापानी तथा अन्य अटो निर्माताका लागि मेक्सिको तुलनात्मक रुपमा कम उत्पादन खर्च लाग्ने गन्तव्यको रुपमा रहेको छ । होन्डाले मेक्सिकोबाट आफ्नो ८० प्रतिशत उत्पादन अमेरिका पठाउँदै आएको छ । अमेरिका चीनपछिकै दोस्रो ठूलो अटो बजार हो ।
होन्डाका प्रमुख अपरेटिङ अफिसर शिन्जी ओयामाले गत नोभेम्बरमा यदि अमेरिकाले आयातित सवारीसाधनमा स्थायी कर लगाउने भए उत्पादन स्थल परिवर्तन गर्नेचेतावनी दिएका थिए ।
होन्डाले गत वर्ष अमेरिकामा सिभिक हाईब्रिडसहित १४ लाख युनिट कार र ट्रक बिक्री गरेको थियो । कम्पनीले ईभी र इन्धनबाट चल्ने २ लाख ४० हजार युनिट सिभिक हाईब्रिड बिक्री गरेको थियो । किफायती मूल्यका कारण चर्चित सिभिक हाईब्रिडको बिक्री गत वर्ष २१ प्रतिशतले बढेको थियो । होन्डाले अमेरिकामा बिक्री गर्ने करिब ४० प्रतिशत सवारी साधन क्यानडा र मेक्सिकोबाट आउने गर्छ ।