काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओमा पहिलो दिनमै ४.१८ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिमटेडका अनुसार कम्पनीको आइपीओमा ४ लाख ९८ हजार १६१ जनाले आवेदन दिएका छन् ।
आज पहिलो दिनमै ६१ करोड ७३ लाख ६२ हजार रुपैयाँ बराबरको ६१ लाख ७३ हजार ६२० कित्ताका लागि आवेदन परेको हो । कम्पनीले आम सर्वसाधारणका लागि कुल १४ लाख ७६ हजार कित्ता आईपीओ जारी गरेको हो । कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल १८ लाख कित्ताको १० प्रतिशत अर्थात रु.१०० अंकित दरका १ लाख ८० हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहि रहेका नेपाली नागरिकहरुको लागि,३ प्रतिशतले हुने ५४ हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुने ९० हजार कित्ता सेयर सामुहिक लगानी कोषको लागि छुट्टाएको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन् ।
यो आईपीओ निष्काशन बन्द छिटोमा चैत ३ गते र ढिलोमा चैत १२ गते हुनेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।