काठमाण्डौं । जीवन बीमा कम्पनीहरुले एक खर्ब भन्दा बढी प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १४ जीवन बीमा कम्पनीले चालु आवको आठ महिनासम्ममा १ खर्ब ८ अर्ब ७१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् ।
यो बीमाशुल्क आर्जन गत आवको सोही अवधिसम्मको तुलनामा १०.३३ प्रतिशत बढी हो । गत आवको ८ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ९८ अर्ब ५३ करोड १६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।
सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनी बाहेक सबै कम्पनीहरुले गत आवको तुलनामा व्यवसाय उल्लेख्य बढाएका छन् ।
आठ महिनासम्ममा सबैभन्दा बढी नेपाल लाइफले २९ अर्ब ३९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । कम्पनीको व्यवसाय गत आवको तुलनामा ११।७८ प्रतिशत बृद्धि भएको छ । गत आवको सोही अवधिसम्म नेपाल लाइफले २६ अर्ब ३० करोड रुपैयाँ प्रिमियम संकलन गरेको थियो ।
त्यस्तै, नेशनल लाइफले १३ अर्ब ६२ करोड, एलआइसी नेपालले १२ अर्ब ५६ करोड, हिमालयन लाइफले ११ अर्ब २२ करोड, सुर्यज्योति लाइफले ६ अर्ब ६९ करोड, एशियन लाइफले ५ अर्ब ६९ करोड, सिटिजन लाइफले ४ अर्ब ४९ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ४७ करोड, सानिमा रिलायन्स लाइफले ४ अर्ब २९ करोड, मेट लाइफले ३ अर्ब ८८ करोड, आइएमई लाइफले ३ अर्ब २८ करोड, प्रभु महालक्ष्मी लाइफले ३ अर्ब १९ करोड, रिलायबल नेपाल लाइफले ३ अर्ब १७ करोड र सन नेपाल लाइफले २ अर्ब ७० करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ ।
गत आवको तुलनामा सर्वाधिक व्यवसाय बढाउनेमा रिलायबल नेपाल लाइफ रहेको छ । कम्पनीले गत आवको तुलनामा २०.६६ प्रतिशतले व्यवसाय बढाएको छ ।
त्यस्तै, सिटिजन लाइफले पनि २ं४३ प्रतिशतले व्यवसाय ग्रोथ गरेको छ । यता नेशनल लाइफले १७.८७ प्रतिशत, प्रभु महालक्ष्मी लाइफले १७.६३ प्रतिशत, र सूर्यज्योति लाइफले पनि १७.२९ प्रतिशतले व्यवसाय बढाएको छ ।
