काठमाण्डौ । बीमा कम्पनीहरुले स्वदेशी पुनर्बीमा कम्पनीसँग मात्रै पुनर्बीमा गर्दा जोखिम विविधिकरण नहुने उच्च स्तरीय आर्थिक सुझाव आयोगले जनाएको छ ।
अर्थमन्त्ती विष्णु पौडेल समक्ष शुक्रबार आयोगले बुझाएको प्रतिवेदनमा बीमा क्षेत्रको स्थिति र विश्लेषणअन्तर्गत बीमकहरुले हिमालयन रि इन्स्योेरेन्स र नेपाल रि इन्स्योरेन्ससँग मात्रै पुनर्बीमा गर्दा जोखिम विविधिकरण नहुने बताएको हो ।
प्रतिवेदनमा उल्लेख गरिएको छ, ‘पुनर्बीमाको केही प्रतिशत हिस्सा विदेशी कम्पनीसँग जोखिम विविधकरण हुन जान्छ । बीमा सम्बन्धी अद्यावधिक ज्ञान र प्रविधि हस्तान्तरणको लागि पनि विदेशी बीमा कम्पनीसँगको सम्बन्ध उपयोगी हुन सक्छ ।’
नेपाली जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले जोखिम बहन गर्नका लागि स्वदेशी दुई पुनर्बीमा कम्पनीसँगै विदेशी पुनर्बीमा कमपनीमा समेत पुनर्बीमा गरेको हुन्छ । नेपाल रि र हिमालयन रि मा मात्रै सबै बीमा कम्पनीको पुनर्बीमा गर्न सक्ने क्षमता नभएका कारण केही प्रतिशत हिस्सा विदेशी पुनर्बीमा कम्पनीमा गराउँदै आएका छन् ।