काठमाण्डौ । विकाश हाईड्रोपावर कम्पनी लिमिटेडले आगामी जेठ ६ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल १२ लाख ६३ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो ।
कम्पनीले गत वेशाख १५ गते प्रति सेयर रू. १०० अंकित दरका ४४ लाख ५४ हजार ५९६ कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
जसमध्ये अति प्रभावित क्षेत्र गोर्खा जिल्लाको धार्चे गाउँपालिकाको वडा न.४ र ५ मा स्थायी बसोवास गर्नेका लागि ३ लाख ६३ हजार ६४० कित्ता तथा प्रभावित क्षेत्र गोर्खा जिल्लाको धार्चे गाउँपालिका वडा न. १,२,३, ६ र ७ मा स्थायी बसोवास गर्ने स्थानियका लागि ५ लाख ४५ हजार ४६१ कित्तान र नेपाल सरकारको सम्वन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि ३ लाख ५४ हजार ५५० कित्ता आईपीओ जारी गर्न लागेको हो ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० र अधिकतममा २० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन बन्द छिटोमा जेठ २० गते र ढिलोमा असार ४ गते हनेछ । वैदेशिक रोजगारीमा रहेका लागि भने आईपीओ निष्कासन बन्द जेठ २० गते हुनेछ ।
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले आयोजना स्थल, नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु,प्रभु क्यापिटल, हिमालयन बैंक धार्चे शाखा र प्रभु बैंकको आरुघात शाखाबाट आवेदन दिन सक्नेछन्।
यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल रहेको छ । पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका र आयोजना प्रभावित क्षेत्रका बासिन्दका लागि सेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ जारी गर्नेछ ।