काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चारवटा सिमेन्ट कम्पनी सूचीकृत छन् । धितोपत्र दोस्रो बजारमा सिमेन्ट कम्पनीहरु निकै चर्चामा पनि छन् । सर्वसाधारणलाई प्राथमिक सेयर निष्कासनमा बुक बिल्डिङ विधिमार्फत र प्रिमियममा आईपीओ निष्कासन गरेका कारण सिमेन्ट कम्पनीहरुको चर्चा हुने गरेको छ ।
नेप्सेको उत्पादन तथा प्रशोधन समूहमा रहेका यी सिमेन्ट कम्पनीहरुमा शिवम् सिमेन्ट सर्वोत्तम सिमेन्ट, घोराही सिमेन्ट र सोनापुर मिनरल्स एण्ड आयल छन् । बजारमा यी कम्पनीहरु चर्चामा रहेपनि सबैको वित्तीय अवस्था भने सन्तोषजनक देखिदैन । शिवम् र सर्वोत्तमको वित्तीय रिर्पोट सन्तोषजनक मात्रै देखिएको छ भने घोराही र सोनापुर मिनरल्स एण्ड आयलको रिर्पोट चित्तबुझ्दो देखिएको छैन ।
चालु आवको तेस्रो त्रैमाससम्म सर्वोत्तम सिमेन्टले ६० करोड ३० लाख रुपैयाँ र शिवम् सिमेन्ट्सले ४० करोड ५ लाख रुपैयाँ नाफा कमाएका छन् । यता घोराहीले ५५ करोड ४३ लाख रुपैयाँ र सोनापुरले ७ करोड ५९ लाख रुपैयाँ घाटा ब्यहोरका छन् ।
धितोपत्र दोस्रो बजारमा प्राय वित्तीय रुपमा जुन कमजोर कम्पनी सो कम्पनीकै सेयरभाउ महँगो जस्तो देखिन्छ । तर सिमेन्ट सेक्टरतर्फ भने यस्तो देखिदैन । सिमेन्ट कम्पनीहरुमा सबैभन्दा राम्रो वित्तीय अवस्था रहेको सर्वोत्तम सिमेन्टकै सेयरभाउ सबैभन्दा महँगो छ, भने वित्तीय अवस्था कमजोर रहेको सोनापुर मिनरल्स आयलको सेयरभाउ सबैभन्दा सस्तो छ ।
सबैभन्दा पुँजी धेरै भएको शिवम् सिमेन्टको सेयरभाउ पाँच सय रुपैयाँमाथि छ । त्यस्तै दोस्रो बढी पुँजी भएको सर्वोत्तमको सेयरमूल्य पनि आठसय रुपैयामाथि छ भने लो क्याप अर्थात सबैभन्दा पुँजी कम भएको सोनापुरको सेयरभाउ सबैभन्दा सस्तो छ ।
नेप्सेमा सूचीकृत सबै समूहका कम्पनीहरुमा एउटै ट्रेण्ड लागू नहुन सक्छ । विशेषगरी अन्य समूहमा लो क्यापहरुको मात्रै सेयरभाउ महँगो र लार्ज क्याप वा मिड क्यापको सेयरभाउ निकै सस्तो देखिन्छ । तर सिमेन्ट कम्पनीहरुमा भने फण्डामेन्टल रुपमा बलिया कम्पनीहरुकै सेयरभाउ महँगो रहेको छ ।
