काठमाण्डौ । नेपाल–ब्राजिल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष अखिल चापागाईंको नेतृत्वमा रहेको नेपाली व्यवसायी प्रतिनिधिमण्डल ब्राजिलको भ्रमण गरेको छ।
प्रतिनिधिमण्डलले ब्राजिलको Confederation of National Industry (CNI) का अधिकारीहरूसँग भेटगरी आपसी चासो र व्यापारिक अवसरहरू बारे छलफल गरेका छन्।उक्त अवसरमा चापागाईंले नेपालमा व्यापार र लगानीको अनुकूल वातावरण रहेको जानकारी गराउदै नेपाली व्यवसायी ब्राजिलका लगानीकर्तालाई नेपालमा स्वागत गर्न तयार रहेको बताए ।
ब्राजिलस्थित नेपाली राजदूत निर्मलराज काफ्लेले नेपाल सरकारले व्यवसायका लागि प्रदान गर्ने प्रोत्साहन र नीतिगत सुविधाहरूबारे जानकारी गराएका थिए ।
CNI अध्यक्ष फ्रेडरिको लामेगोले नेपाली प्रतिनिधि मण्डललाई हार्दिक स्वागत गर्दै ब्राजिल र नेपालको व्यापारिक समुदायबीच सहकार्य र सम्पर्क विस्तारका लागि सघाउने प्रतिवद्धता जनाए। दुबै पक्षले भविष्यमा निरन्तर सम्पर्कमा रहने र सम्भावित सहकार्यका क्षेत्रहरू पहिचान गर्दै जान सहमति जनाए।
यसै क्रममा, नेपाली प्रतिनिधि मण्डलले ब्राजिलको Confederation of Commercial and Business Associations (CACB) को भ्रमण पनि गरेको छ। CACB का सुपरिन्टेन्डेन्ट कार्लोस रेजेन्डेर संस्थागत सल्लाहकार मोनिका मोन्टेइरोले प्रतिनिधिमण्डललाई स्वागत गरेका थिए। ब्राजिलको परराष्ट्र मन्त्रालयका Minister-Counsellor अल्मिरन सिमेन्तो पनि उक्त भेटमा उपस्थित थिए।