काठमाण्डौ । बीमा कम्पनीहरुले लगानी विविधिकरणमा जोड दिन थालेका छन् । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई लगानी विविधिकरण गर्न पटक–पटक निर्देशन दिएपछि बीमकहरुले अन्य क्षेत्रको अध्ययन गरेर लगानी गर्न थालेका छन् ।
चालु आवको तेस्रो त्रैमाससम्म बीमकहरुले कृषि उत्पादन तथा वितरण, शीत भण्डार, गृह, पर्यटन, उद्योग, जलविद्युत, सौर्य उर्जा, केबलकार, शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा १२ अर्ब २९ करोड २८ लाख रुपैयाँ लगानी गरेका छन् ।
यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ३३.९४ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म बीमकहरुको यस्तो क्षेत्रमा ९ अर्ब १७ करोड ८१ लाख रुपैयाँ मात्रै लगानी रहेको थियो ।
यस अवधिसम्म आइपुग्दा जीवन बीमातर्फ ९ कम्पनी र निर्जीवनतर्फ ५ गरी कुल १४ कम्पनीले यस्तो क्षेत्रमा लगानी गर्न हात अघि बढाएका छन् । गत आवको सोही अवधिसम्म भने जीवन बीमातर्फ ६ कम्पनी र निर्जीवनर्फत ५ गरी कुल ११ कम्पनीले मात्रै यस्तो क्षेत्रमा लगानी गरेका थिए ।
लगानी निर्देशिका बमोजिम बीमकहरुले यस्तो क्षेत्रमा कुल लगानीको १० प्रतिशत रकम लगानी गर्न पाउने व्यवस्था छ । बीमकहरुको ८० प्रतिशत भन्दा बढी रकम मुद्दती निक्षेपमै थुप्रिरहेकोमा विस्तारै बीमा कम्पनीहरु अन्य क्षेत्रको अध्ययन गरी लगानी विविधिकरण गर्नतर्फ उन्मुख भएका छन् ।
प्राधिकरणको लगानी निर्देशिका, २०७९ बमोजिम जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले कृषि उत्पादन तथा वितरण, उद्योग, पर्यटन, सौर्य, जलविद्युत्, प्रसारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्दा एउटै परियोजनामा कुल लगानी रकमको ५ प्रतिशत भन्दा बढी लगानी गर्न नपाइने व्यवस्था थियो ।
तर प्राधिकरणले उक्त लगानी निर्देशिका संशोधन गर्दै यस्तो क्षेत्रमा लगानी गर्नुपूर्व यसअघि निर्देशनमा उल्लेखित तोकिएको सीमा भन्दा बढी लगानी गर्नुपूर्व प्राधिकरणको अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था गरिदिएको थियो । प्राधिकरणले यस्तो क्षेत्रमा लगानी गर्न बीमकहरुलाई थप सहजता बनाइदिएपछि बीमा कम्पनीहरुले पनि यस्तो क्षेत्रमा लगानी बढाएका हुन् ।
