काठमाण्डौ । अघिल्लो साता धितोपत्र बोर्डले आईपीओमा गएका इन्भेष्टमेन्ट कम्पनीहरुको कार्यक्षेत्र बढाउने व्यवस्था गरेको थियो । अब आईपीओमा गएका इन्भेष्टमेन्ट कम्पनीले संगठित संस्था/उर्जा, यातायात, संचार, कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि तथा खनिज उत्खननसँग सम्बन्धित संगठित संस्थाको संस्थापक सेयर खरिद गर्न सक्नेछन् ।
तर अन्य धितोपत्र र प्राथमिक तथा दोश्रो बजारमार्फत धितोपत्र खरिद गर्न भने पाउने छैनन् । यो व्यबस्थाले लगानी क्षेत्रमा रहेका नीजि लगानीका ४ कम्पनीहरुलाई दोस्रो बजारमा सेयर किन्न रोकेको छ । तर यी कम्पनीहरुले सिधै सेयर खरिद गर्न नमिल्ले भए पछि सहायक कम्पनी खोलेर ती कम्पनीमार्फत सेयर खरिद गरेको अवस्थामा अब धितोपत्र बोर्डले त्यसो गरे कारवाही गर्ने भएको छ ।
धितोपत्र बोर्डका सहायक प्रवक्ता तोलाकान्त न्यौपानेले लगानी कम्पनी तथा ती कम्पनीका कुनै पनि सहायक कम्पनीले दोस्रो बजारमा सेयर खरिद गर्न नपाउने बताए । ‘लगानी कम्पनीहरुको उद्देश्य नै फरक हो । उनीहरुले घुमाउरो बाटोबाट दोस्रो बजारमा सेयर खरिद गर्न मिल्दैन । यदि त्यस्तो भेटिएमा धितोपत्र बोर्डले कारबाही गर्छ । तर यि कम्पनीहरुले बुक बिल्डिङ बिधिबाट भने सेयर खरिद गर्न सक्नेछन्,’ उनले भने ।
यस विषयमा बोर्डले अध्ययन गरिरहेको पनि न्यौपानेले जानकारी दिए । हाल लगानी क्षेत्रमा ७ वटा कम्पनी रहेका छन् । जसमा ३ जटा सरकारी र ४ वटा नीजि क्षेत्रबाट गएका लगानी समूहमा रहेका छन् । निजि क्षेत्रमा एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी होल्डिङ , इमर्जिङ नेपाल तथा हाथवे इन्भेष्टमेन्ट कम्पनी रहेका छन् ।
केही समय पहिले एनआरएन इन्फ्रास्ट्रक्चरले अक्सन मार्केटबाट नै सेयर खरिद गरे पछि धितोपत्र बोर्डले कारबाही गरेको थियो । अझै पनि यी कम्पनीहरुले सोझै दोस्रो बजारबाट सेयर खरिद नगरेर सहायक कम्पनी मार्फत दोस्रो बजारमा सेयर खरिद गर्ने गरेको र केही कम्पनी उचालेर सर्वसाधारणलाई भिडाउने गरेको गुनासो नियामक निकायमा पर्न थालेको छ । यिनै गुनासोको आधारमा धितोपत्र बोर्डले यी कम्पनीका सहायक कम्पनीहरुलाई पनि सुक्ष्म अध्ययन गरेको धितोपत्र बोर्ड स्थित स्रोतले जानकारी दियो ।