काठमाण्डौ । पछिल्लो समय नेप्से परिसूचक २६ सय विन्दुबाट तल खसेपछि अधिकांश बीमा कम्पनीहरुको सेयरभाउ ह्वात्तै घट्न पुगेको छ ।
नेप्सेको फ्लोसिटअनुसार अधिकांश बीमा कम्पनीका सेयरभाउ ५२ हप्ताकै लो प्राइस आसपास पुगेको छ । बीमा कम्पनीहरुको सेयरभाउ बोनस सेयर र हकप्रद सेयरका कारण समायोजन भएकाले पनि घटेको देखिएको हो ।
तर ५२ हप्ताकै लो प्राइस नजिक पुगेका सबै बीमा कम्पनीको सेयरभाउ हकप्रद र बोनस सेयरको मूल्य समायोजनले घटेका भने होइनन् । ५२ हप्ताकै लो प्राइस नजिक सेयरभाउ पुगेका बीमा कम्पनीहरुमा ९ वटा जीवन बीमा र ११ निर्जीवन गरी कुल २० बीमा कम्पनी रहेका छन् ।
सेयरभाउ नै ह्वात्तै घट्नेगरी बीमा कम्पनीहरुले यस वर्ष लगानीकर्तालाई लाभांश दिएका छैनन् । केहीले बोनस नदिई नगद लाभांशमा मात्रै जोड दिएका छन् भने केहीले न्युन बोनस सेयर बाँडेका छन् ।
साथै केही कम्पनीको सेयरभाउ हकप्रद सेयर निष्कासनका लागि मूल्य समायोजनले पनि घटेको देखिएको छ । जस्तै नेको इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र एलआइसी नेपाल जस्ता कम्पनीले हकप्रद सेयर निष्कासन गरिसकेका छन् ।
पछिल्लो समय सेयरबजारमा सूचीकृत कम्पनीहरुको बोनस सेयर र हकप्रद सेयरमा लगानीकर्ता आकर्षित देखिँदैनन् । लगानीकर्ता आकर्षित नहुँदा बीमा कम्पनीहरुले सीमित बोनस सेयर र हकप्रद जारी गरेपनि उल्टै सेयरभाउ भने घट्न पुगेको छ ।
बीमा कम्पनीहरुले चुक्तापूँजी बृद्धिका लागि भएपनि हकप्रद र बोनस सेयर जारी गरेका छन् । यस्तो अवस्थामा बीमा कम्पनीको पूँजी बृद्धि हुने तर त्यस अनुपातमै व्यवसाय नबढ्दा बीमकहरुको लाभांशदर घट्ने सम्भावना बढ्दछ ।
विशेषगरी अहिले बजारमा लगानीकर्ताहरु बढी ‘लो क्याप’ वा ‘अल्ट्रा लो क्याप’ कम्पनीमा आकर्षित देखिएकाले पनि बीमा कम्पनीहरु छायाँमा परेका छन् । सूचीकृत अन्य कम्पनीको तुलनामा बीमा कम्पनीहरुको पूँजी मध्यम वर्गमा देखिन्छ । यसरी लगानीकर्ताहरु लो क्यापतर्फ मात्रै आकर्षित हुँदा बीमा कम्पनीहरुको सेयरभाउ अझै घट्न सक्ने संकेत देखिन्छ ।
कुनको कति नजिक ?
नेप्सेको फ्लोसिटअनुसा २० वटा बीमा कम्पनीको सेयरभाउ ५२ हप्ताकै विन्दुनजिक पुगेको छ । यसरी सेयरभाउ घट्नेमा ९ जीवन बीमा र ११ निर्जीवन बीमा कम्पनी रहेका छन् । नेपाल इन्स्योरेन्सको अन्तिम कारोबार मूल्य अर्थात् सेयरभाउ ५७१ रुपैयाँ छ । कम्पनीको ५२ हप्ताकै लो प्राइस पनि ५७१ रुपैयाँ नै रहेको छ ।
त्यस्तै, नेको इन्योरेन्सको सेयरभाउ पनि ०.१५ प्रतिशतले मात्रै घटेमा ५२ हप्ताकै लो रेटमा पुग्नेछ । कम्पनीको हालको सेयरभाउ ६६४ रुपैयाँ रहेको छ भने ५२ हप्ताकै लो रेट ६६३ रुपैयाँ छ ।
यसका साथै सानिमा जिआइसीको ०.१९ प्रतिशत, रिलाबयल नेपाल लाइफको ०.२३ प्रतिशत, सूर्यज्योति लाइफको ०.४८ प्रतिशत, सिटिजन लाइफको ०.६७ प्रतिशत, सानिमा रिलायन्स लाइफको १.०३ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.७७ प्रतिशत, एलआइसी नेपालको १.८० प्रतिशत, हिमालयन एभरेष्टको १.८३ प्रतिशत, एशियन लाइफको १.८६ प्रतिशत, सन नेपाल लाइफको २.२४ प्रतिशत, सगरमाथा लुम्बिनीको २.७७ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको २.९४ प्रतिशत, एनएलजीको ३.४२ प्रतिशत, हिमालयन लाइफको ३.५७ प्रतिशत, सिद्धार्थ प्रिमियरको ४.१७ प्रतिशत, आइएमई लाइफको ५.३४ प्रतिशत, युनाइटेड अजोडको ६.०६ प्रतिशत र शिखर इन्स्योरेन्सको ६.५२ प्रतिशतले घटेमा ५२ हप्ताकै लो रेट नजिक पुग्नेछ ।
