काठमाण्डौ । भारतीय सेयर बजार नियामक सेक्युरिटी बोर्ड अफ इण्डिया(सेबी(ले अमेरिकी व्यापारिक फर्म जेन स्ट्रिट समूह र यससँग सम्बद्ध तीन कम्पनीलाई प्रतिबन्ध लगाएको छ । अमेरिकी व्यापारिक फर्मलाई सूचकांकको म्याद सकिएको दिनमा मूल्यमा धाँधली गरेको आरोप लागेको छ । सेबीले ४ हजार ८४३ करोड भारु अवैध कमाई जफत गर्न पनि आदेश दिएको छ।
जेन स्ट्रीट एक अमेरिकी व्यापारिक कम्पनी हो जसले उच्च–प्रविधि र गणितीय मोडेलहरू प्रयोग गरेर स्टक बजारमा व्यापार गर्दछ। यो कम्पनीले भारतको डेरिभेटिभ बजारमा, विशेष गरी बैंक निफ्टी र निफ्टी ५० इन्डेक्स विकल्पहरूमा व्यापक रूपमा ट्रेड गर्ने गर्थ्यो । सेबीले जेएसआई २ इन्भेष्टमेन्ट प्राइभेट लिमिटेड, जेन स्ट्रिट सिंगापुर प्राइभेट लिमिटेड र जेन स्ट्रिट एशिया ट्रेडिङ लिमिटेडलाई सेयर बजारबाट प्रतिबन्ध लगाएको छ ।
सेबीले जेन स्ट्रिटले म्याद समाप्त हुने दिन बैंक निफ्टी र निफ्टी ५० जस्ता सूचकांकहरूको मूल्यलाई जानाजानी प्रभाव पारेको बताएको छ। कम्पनीले डेटा डे इन्डेक्स म्यानुपुलेशन र एक्सटेंडेड मार्किंग द क्लोज गरी दुई मुख्य विधिहरू प्रयोग गरेको सेबीले जनाएको छ ।
सेबीको अनुसन्धान अनुसार जनवरी २०२३ देखि मार्च २०२५ सम्म, जेन स्ट्रीटले अप्शन ट्रेडिंगबाट ४४ हजार ३५८ करोड भारुबराबरको कुल नाफा कमाएको छ। तर, यस अवधिमा कम्पनीले स्टक फ्युचरमा रु ७,२०८ करोड, इन्डेक्स फ्युचरमा रु १९१ करोड र नगद बजारमा रु २८८ करोड भारु घाटा पनि व्यहोरेको छ ।
कुल मिलाएर, कम्पनीले ३६ हजार ६७१ करोड भारुबराबरको खुद नाफा कमाएको छ, जसमध्ये सेबीले ४ हजार ८४३ करोड भारुलाई अवैध कमाई भन्दै जफत गर्न आदेश दिएको छ ।