काठमाण्डौ । गत आर्थिक वर्ष २०८१÷८२ मा नेपालले २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख रुपैयाँबराबरको वैदेशिक व्यापार गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार उक्त अवधिमा १८ खर्ब ४ अर्ब १२ करोड २७ लाख रुपैयाँबराबरको वस्तु आयात र २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँबराबरको निर्यात भएको छ।
सो अवधिमा १५ खर्ब २७ अर्ब ९ करोड २५ लाख रुपैयाँबराबरको व्यापार घाटा भएको छ । गत आर्थिक वर्षमा वैदेशिक व्यापार १९.२४ प्रतिशतले बढ्दा व्यापार घाटा भने ६ प्रतिशतले बढेको छ । यो वैदेशिक व्यापारमा आयातको हिस्सा ८६.६९ प्रतिशत र निर्यातको हिस्सा १३.३१ प्रतिशत रहेको देखिन्छ ।
गत आर्थिक वर्षमा भारतसँग नेपालले १० खर्ब ७१ अर्ब २० करोड रुपैयाँबराबरको आयात र २ खर्ब २४ अर्ब ६८ करोड ४३ लाख रुपैयाँ बराबरको निर्यात गरेको छ । नेपालले भारतसँग मात्र ८ खर्ब ४६ अर्ब ५१ करोड ४५ लाख रुपैयाँबराबर व्यापार घाटा व्यहोरेको देखिन्छ ।
चीनबाट नेपालले ३ खर्ब ४१ अर्ब १० करोड ४५ लाख रुपैयाँबराबरको वस्तु आयात गरी २६ अर्ब ३० करोड रुपैयाँबराबरको निर्यात गरेको छ ।
नेपालले युक्रेन,अर्जेन्टिना, युनाइटेड अरब इमिरेट्ससँग सबै भन्दा बढी व्यापार घाटा व्यहोरेको छ । गत आवमा सबैभन्दा धेरै व्यापार नाफा गरेका मुलुकमा अफगानस्तिान, डेनमार्क, रसियन फेडेरेसन, रोमानिया, अस्ट्रिया, लाओस रहेका छन् । यसमा पनि सबैभन्दा धेरै अफगानस्तिानसँग ६८ करोड ६१ लाख १७ हजार र डेनमार्कसँग ३३ करोड ८९ लाख १३ हजार बराबरको व्यापार नाफा गरेको देखिन्छ ।
त्यसैगरी वस्तु तर्फ हेर्ने हो भने पहिलो स्थानमा पेट्रोलियम पदार्थ नै देखिएको छ भने स्मार्टफोनले पनि आयतको ठूलो हिस्सा ओगटेको देखिन्छ । गत वर्ष यसको आयात ३५ अर्ब ५४ करोड ७३ लाख रुपैयाँ बराबरको थियो भने १८ अर्ब ६२ करोड रुपैयाँ बराबरको विद्युतीय कारहरु नेपाल भित्रिएको तथ्यांकले देखाउँछ।