मंगलवार, श्रावण १३,२०८२ 01:58:36
  • मंगलवार, श्रावण १३,२०८२ 01:58:36
Global IME Bank Limited

नेप्से अलटाईम हाईलाई ब्रेक गर्न शक्ति सञ्चय गर्दैछ ? यस्तो छ विश्लेषकको तर्क

Hyundai Nepal
नेप्से अलटाईम हाईलाई ब्रेक गर्न शक्ति सञ्चय गर्दैछ ? यस्तो छ विश्लेषकको तर्क
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकको सकारात्मक मौद्रिक नीतिपश्चात् सेयरबजार बुलिस सेन्टिमेन्टमा चल्न थालेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा सेयरबजारका लागि सुखद् नीतिहरु समावेश भएकाले लगानीकर्ताहरुमा छुट्टै उत्साह थपिएको छ ।

हुन त साउन र भदौ महिना सेयरबजारको लागि सिजन नै मानिन्छ । विगतका केही वर्षहरुमा पनि यो समय सेयरबजार बुलिस ट्रेन्डमा चलेको देखिन्थ्यो ।  

इतिहासलाई दोहोर्याउँदै यस वर्षको साउन र भदौमा सेयरबजारले लय समात्दै नयाँ रेकर्ड राख्ने बजार जानकारहरुको अनुमान रहेको छ ।

केही सेयर विज्ञहरुले सबै कुरा सकारात्मक नै देखिएकाले यसअघि अलटाइम हाई रहेको नेप्से इन्डेक्स यसपटक त्यो बिन्दूलाई ब्रेक गरेर अगाडि बढ्ने बताएका हुन् ।  

यसअघि २०७८ को भदौ महिनामा नेप्से परिसूचक ३२ सयको विन्दुमा पुगेर नयाँ रेकर्ड राखेको थियो । 

Muktinath Bikas Bank Limited

त्यसपछि देशमा देखिएको आर्थिक संकटसँगै नेपाल राष्ट्र बैंकको कसिलो नीतिले सेयरबजारमा विशेष प्रभाव पारेको थियो । नेप्से परिसूचक ३२ सयको विन्दुबाट घटेर १८ सयको विन्दुसम्म सीमित बन्न पुगेको थियो ।  

बजारले फेरी उहि ३२ सयको विन्दु पार गर्नसक्ने सेयर लगानीकर्ता वा जानकारहरुले अनुमान लगाइरहेका छन् ।  

नेपाल राष्ट्र बैंकले आव २०८२/८३ को मौद्रिक नीतिमार्फत सेयरबजारका लागि सकारात्मक नीति ल्याएका कारण सेयर लगानीकर्ताहरुमा उत्साह थपिएको छ ।  

केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत व्यक्तिगततर्फको सेयर धितो कर्जाको सीमा बढाइदिएपछि लगानीकर्ताहरु उत्साहित देखिन्छन् । यसअघि व्यक्तिगततर्फको सेयर धितो कर्जाको सीमा १५ करोड रुपैयाँ रहेकोमा केन्द्रीय बैंकले १० करोड रुपैयाँ थपेर २५ करोड रुपैयाँसम्म पुर्याएको छ ।  

बजारका लागि मौद्रिक नीति सकारात्मक आउनु र बैंकहरुको ब्याजदर सस्तो हुनुले बजारमा नयाँ लगानी थपिनसक्ने देखिन्छ । यसले बजारलाई चलायमान बनाउन सहयोग पुग्ने लगानीकर्ताहरुको अनुमान छ ।  

पछिल्लो समय बैंकिङ क्षेत्रमा तरलता पनि फालाफाल रहेको हुँदा अबको सेयरबजार बुलिस सेन्टिमेन्टमा देखिने लगानीकर्ताहरुले अनुमान लगाइरहेका छन् ।

बजार जानकार प्रकाश रजौरेले पछिल्लो समयको बजार पोजेटिभ नै रहेको र आम लगानीकर्तामा आत्मविश्वास बढ्दा बजार अझै माथि उक्लिने अनुमान गर्छन् ।  

‘समग्र सेयरबजार लगानीकर्ताहरुको सेन्टिमेन्टमा चल्ने भएकाले अहिलेको अवस्थामा लगानीकर्ताहरु बजारप्रति उत्साहित छन्, मौद्रिक नीतिपश्चात् त झनै कन्फिडेन्ट बढेको छ’ उनले भने, ‘बजार बढ्छ वा बढ्दैन भन्ने साइकोम्याथम्याटिकल्ली प्रश्न हो, यसमा लगानीकर्ताहरुको बजारप्रति मनोविज्ञान कस्तो छ त्यो बुझ्नु जरुरी छ । सेयर विद्धानहरुको थेउरीको आधारमा बजार अपडाउन वा बुल तथा वियर हुने त्यो अनुमान लगाउन सकिन्छ।’

२०७८ मा सेयरबजार ३२ सयको विन्दुबाट तल खस्नुमा नेपाल राष्ट्र बैंकको पोलिसीसँगै आम लगानीकर्ताको मनोविज्ञानले समेत काम गरेको उनको भनाई छ ।  

‘२०७८ मा पनि नेप्से परिसूचक ३२ सयको विन्दुमा पुगेको थियो, बजार त्यो भन्दा अझै माथि नै जान्थ्यो होला, आम लगानीकर्ताको मनसाय ३२ सयको विन्दु क्रस नगरिकन मार्केट सेचुरेसनमा पुग्दैन भन्ने सोच थियो, तर राष्ट्र बैंकले कसिलो नीति ल्याएका कारण बजार माथि उक्लिन सकेन’ उनले भने, ‘राष्ट्र बैंकले एकपछि अर्को अप्ठ्यारो पोलिसी ल्याएर बजारलाई प्रहार गर्यो जसकारण आम लगानीकर्ताको मनोबल कमजोर बन्यो र बजार वियरिस ट्रेन्डमा आएको हो ।’  

बजार लामो समयसम्म वियरिस ट्रेन्डमा रहेकाले आफ्नो साइकल पूरा गर्न नसक्दा मार्केट क्र्यास नै हुन पुगेको उनको भनाई छ । ‘बजारमा बुलिस र वियरिस दुबै ट्रेन्ड चल्छन्, तर साइकल पूरा नभए मार्केट क्र्यास हुन सक्छ, यसरी नै केही वर्षअघि हामीले लामो समयसम्म बजार वियरिस ट्रेन्डमा चलेर मार्केट क्र्यास हुँदा १८ सयको विन्दुमा आएको देखेका थियौं’ उनले भने, ‘इलिअट वेबको थेउरी अनुसार डब्लु भाइभ भनेजस्तै वियरिस ट्रेन्ड होस् या बुलिस ट्रेन्ड बजारले ५ वटा पोजिसन लिने हो, बुलिस ट्रेन्डमा ३ हजारको पहिलो वेभ बनेको थियो जसमा एउटा करेक्सनको मोड लियो र फेरी ३ हजारको विन्दु क्रस गर्न बजारमा एउटा इनर्जी आवश्यक छ, र समग्र भोलिको मार्केटमा त्यो इनर्जी पनि मिट हुनेछ ।’

बजारमा केही दिनसम्म सानो–सानो करेक्सन देखिएर ३ हजारको विन्दु क्रस हुने उनको अनुमान छ । यसअघि रेकर्ड रहेको नेप्से परिसूचक ३२ सयको विन्दुबाट पनि माथि पुग्ने उनको दाबी छ ।  

‘बजार माथि जानको लागि सानो–सानो करेक्सन आवश्यक छ, केही दिन यस्ता स–साना करेक्सन देखिएर बजारले ३२ सयको विन्दु पार गर्ने देखिन्छ, त्यसपछि एउटा नयाँ उचाई छोएपनि बजारमा फेरि एउटा करेक्सन देखिनसक्छ’ उनले भने, ‘त्यो करेक्सनपछिको मार्केट अगाडि गयो भने बजारले एउटा अप्टिमम विन्दु लिने देखिन्छ, तर त्यसका लागि केही समय लाग्ने देखिन्छ ।’

अहिलेको अवस्थामा सकारात्मक खालका नीतिहरु आएको हुनाले बजार सहजै माथि जाने रजौरेको अनुमान छ । ‘पहिले बजार घट्नुमा राष्ट्र बैंककै कसिलो नीतिहरु कारक थिए भने अहिले बजार माथि उक्लिनुमा पनि राष्ट्र बैंककै सकारात्मक नीतिहरु प्रमुख कारक हुनेछन्’ उनले भने, ‘मौद्रिक नीति सकारात्मक आएको छ र बैंक तथा वित्तीय संस्थाका लागि राष्ट्र बैंक लचक देखिएको छ, यसले लगानीकर्ताको कन्फिडेन्ट बढाएको छ ।’

पछिल्लो समय बजारमा इन्भेष्टर र ट्रेडरहरुको मनोबल बढ्दा बजारले अलटाइम हाई रेकर्ड ब्रेक गर्नसक्ने उनले बताए । ‘बजारमा अहिले दुई खालका लगानीकर्ता छन् एक लामो समयका लागि लगानी गर्ने र अर्को छोटो अवधिमा नाफा कमाउने खालका ट्रेडरहरु, अहिले यी दुबै खालका लगानीकर्तामा बजारप्रति उत्साह थपिएको छ’ उनले भने, ‘सेयर बिक्रीसँगै अहिले खरिद चाप पनि बढेको देखिएको छ, यसले बजारलाई माथि उक्लिन सहयोग गर्छ, यसरी बजारले विस्तारै ३२ सयको विन्दु ब्रेक गर्ने देखिन्छ, तर त्यसको लागि केही समय लाग्न सक्छ ।’

त्यस्तै, प्राविधिक विश्लेषक सुवासचन्द्र ढुंगानाले पनि बजार माथि नै पुग्ने संकेत देखिएको बताए । ‘बजारलाई प्राविधिक रुपमा हेर्दा तत्कालै ३२ सयको विन्दु पार गर्ने अवस्था देखिँदैन तर केही समयअघिदेखि नै बजार बुलिस ट्रेन्डमा प्रवेश गरिसकेकाले माथि जाने सम्भावना छ’ उनले भने, ‘मैले २०२४ को अगस्ट जुलाईमा नै मार्केट ३२ सयको विन्दु पार गर्न सक्ने प्रेडिक्सन गरेको थिएँ तर अहिले बजारमा लगानीकर्ताको मनोविज्ञानले प्रभाव पार्ने भएकाले कुनै एकिन गर्न सकिदैन ।’

तर बजार माथि पुग्नसक्ने सम्भावनाहरु धेरै रहेको उनले बताए । ‘प्राविधिक रुपमा हेर्दा मार्केट बुलिस ट्रेन्डमा छ, तर सँधै प्राविधिक कुरा पनि मेल नखान सक्छ, समग्र बजार लगानीकर्ताको भावनासँग चल्ने भएकाले बजार कतिसम्म पुग्ला भनेर प्रेडिक्ट गर्न पनि गाह्रो छ’ उनले भने, ‘तर बजारलाई प्रभाव पार्ने खालका नीतिहरु आएका छन्, बैंकहरुमा तरलता पर्याप्त छ, यस हिसाबले बजार केही माथि अवश्य जानसक्छ ।’

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.