काठमाण्डौ । स्मार्ट डोर्स लिमिटेडले जारी पूँजी र सर्वसाधारणलाई छुट्टाएको आईपीओको प्रतिशत परिवर्तन गर्ने भएको छ । कम्पनीले यस प्रयोजनका लागि विशेष साधारण सभा डाकेको छ । मंसिर ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मंसिर २४ गते काठमाण्डौको टोखामा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।
उक्त सभामा कम्पनीको प्रबन्धपत्रको दफा ६ परिवर्तन गरी जारी पूँजी र सर्वसाधारण सेयरधनीलाई छुट्टाइएको सेयरको प्रतिशत परिवर्तन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
कम्पनीको आईपीओ नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेको छ । कम्पनीले २०८१ वैशाख ३ गते आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो । कम्पनीले ३ करोड ६ लाख रुपैयाँबराबरको रु. १०० अंकित दरका ३ लाख ६ हजार कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेको छ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

