काठमाण्डौ । खुद ब्याज आम्दानी बढेसँगै एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड घाटाबाट बाहिरिदै नाफा आर्जन गर्न सफल भएको छ । संस्थाले सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरण हेर्दा संस्था चौथो त्रैमाससम्म ६ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।
अघिल्लो आवको सोही अवधिसम्म भने संस्था ५ करोड २९ लाख रुपैयाँ घाटामा थियो । यो अवधिमा संस्थाले ४३ करोड ५५ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ५१.८२ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म संस्थाको खुद ब्याज आम्दानी २६ करोड ९१ लाख रुपैयाँ रहेको थियो । संस्थाको खुद सञ्चालन आम्दानी ४६ करोड ३८ लाख रुपैयाँ पुगेको छ ।
यो अवधिमा संस्थाको सञ्चालन मुनाफा ६ करोड ८८ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा यस्तो रकम ५ करोड ३२ लाख रुपैयाँले ऋणात्मक थियो ।
अघिल्लो आवमा ६ करोड ३१ लाख रुपैयाँले ऋणात्मक रहेको संस्थाको रिटेन्ड अर्निङ २० लाख २५ हजार रुपैयाँले धनात्मक बनेको छ । रिजर्भको आकार पनि २० करोड २९ लाखबाट बढेर २१ करोड ८० लाख रुपैयाँ पुगेको छ । संस्थाले सेयर प्रिमियम शीर्षकमा ७ करोड २९ लाख रुपैयाँ छुट्टाएको छ ।
यो अवधिसम्म संस्थाले ग्राहकहरुबाट १ अर्ब ५६ करोड रुपैयाँ निक्षेप संकलन र ६ अर्ब २५ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । यस्तै संस्थाको वितरणयोग्य मुनाफा ४ करोड ७५ हजार रुपैयाँ रहेको छ । संस्थाको खराब कर्जा अनुपात ६.३५ प्रतिशतबाट घटेर ४.४३ प्रतिशतमा सीमित बनेको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)८.८५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४०.६१ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ९९२.१५ रुपैयाँ, मूल्य आम्दानी अनुपात ८४.२० गुणा र तरलता अनुपात १०.०८ प्रतिशत कायम भएको छ ।