काठमाण्डौ । यो साता सेयरबजार २.४४ प्रतिशत घटेर २८५० विन्दुमा कायम भएको छ । गत साता नेप्से परिसूचक २.०१ प्रतिशत घटेर २९२२ मा कायम रहेको थियो । यो साता ५ दिन कारोबार हुँदा तीन दिन बजार घट्यो भने दुई दिन सेयरबजार सामान्य बढ्यो ।
पहिलो दिन आइतबार ६३.७३ अंक घटेको बजार सोमबार १६.४६ बढ्यो । मंगलबार ४१.३५ र बुधबार १.९४ अंक घटेको बजार बिहीबार १८.३० बढ्यो । सेयरबजार यो साता घटेसँगै कारोबार रकम पनि घटेको छ । पहिलो कारोबार दिन १३ अर्ब ७ करोड रुपैयाँको कारोबार भएकोमा अन्तिम कारोबार दिनसम्म जम्मा ८ अर्ब ५३ करोड रुपैयाँको कारोबार भयो ।
यो साता सर्वाधिक माइक्रोफाइनान्स समूहका लगानीकर्ताले कमाएका छन् । ५ कम्पनीले यो साता ११ प्रतिशत भन्दा बढी नाफा कमाएका छन् । सबैभन्दा बढी कमाउनेमा समाज लघुवित्त रहेको छ । यो कम्पनीका लगानीकर्ताले १८.२६ प्रतिशत नाफा कमाएका छन् ।
त्यस्तै, सिक्लेस हाइड्रोपावरले १४.२६ प्रतिशत, विन नेपाल लघुवित्तले १४.०४ प्रतिशत, महुली लघुवित्तले १४.०४ प्रतिशत, लिबर्टी इनर्जीले ११.१७ प्रतिशत, इन्फिनिटी लघुवित्तले ८.१३ प्रतिशत, सिवाइसी नेपाल लघुवित्तले ६.७९ प्रतिशत, युनाइटेड मोदी हाइड्रोपावरले ६.७९ प्रतिशत, आशा लघुवित्तले ६.३७ प्रतिशत र गुराँस लघुवित्तले ६.२६ प्रतिशतले कमाएका छन् ।
