काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला कारागारबाट नक्खु कारागार स्थानान्तरण गर्ने तयारी भएको छ। लामिछानेले यसअघि नै कारागार सरुवाका लागि नक्खु कारागारको अनुरोध गरेका थिए।
कारागार विभागका महानिर्देशक लीलाप्रसाद शर्माका अनुसार शुक्रबार नै सरुवाको निर्णय गरिएको हो। “नक्खु ल्याउनका लागि निर्णय गरेर पठाएका छौं,” शर्माले जानकारी दिए।
शर्माका अनुसार लामिछानेले आफ्नो मन्जुरीनामामै नक्खु कारागार पठाउन लेखेर माग गरेका थिए र सोही अनुसार प्रक्रिया अघि बढाइएको हो।
“मन्जुरीनामामा स्पष्ट रूपमा नक्खु कारागार उल्लेख भएकाले त्यही अनुसार निर्णय गरेका हौं,” उनले बताए।
गृहमन्त्री रमेश लेखकले पनि केही दिनअघि प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा लामिछानेको कारागार सरुवाको प्रक्रिया भइरहेको खुलासा गरेका थिए।
अब रुपन्देही कारागार, त्यहाँको सीडीओ कार्यालय र प्रशासनले आवश्यक काम पूरा गरेपछि उनलाई नक्खु कारागार ल्याइनेछ।
“रुपन्देही कारागार र सम्बन्धित प्रशासनले प्रक्रिया अघि बढाउँछन्,” शर्माले स्पष्ट पारे।