काठमाण्डौ । बीमा कम्पनीहरुको घरजग्गा कारोबार (रियल स्टेट) क्षेत्रमा लगानी शुन्य जस्तै रहेको छ । केही वर्षदेखि सुस्ताइरहेको घरजग्गा कारोबार चलायमान भएपनि बीमा कम्पनीहरुले यो सेक्टरमा लगानी गर्न सकिरहेका छैनन् ।
गत आर्थिक वर्षको अन्त्यसम्म हिमालयन लाइफ इन्स्योरेन्स बाहेक कुनै कम्पनीले पनि यो क्षेत्रमा लगानी गरेका छैनन् । हिमालयन लाइफ इन्स्योरेन्सले घरजग्गा कारोबार क्षेत्रमा ७५ करोड ८१ लाख रुपैयाँ लगानी गरेको छ ।
यता बैंक तथा वित्तीय संस्थाहरुबाट रियल स्टेट सेक्टरको लोन उल्लेख्य बढेपनि बीमा कम्पनीहरु भने यो क्षेत्रमा लगानी असुरक्षित महसुस गरिरहेका छन् । अहिले काठमाण्डौ लगायतका शहरी क्षेत्रहरुमा पुनः घरजग्गा कारोबार विस्तारै चलायमान हुँदै गएपनि बीमा कम्पनीहहरुको ८० प्रतिशत भन्दा बढी रकम बैंकको मुद्दती निक्षेपमै थुप्रिएको छ ।
चालु आवको अन्त्यसम्म बीमा कम्पनीहरुले मुद्दती निक्षेप, अग्राधिकार सेयर, बण्ड डिबेञ्चर तथा ऋणपत्र, सरकारको बचतपत्र, नागरिक लगानी कोष र म्युचुअल फण्ड, सेयरबजार जस्ता क्षेत्रमा लगानी गरेपनि घरजग्गा क्षेत्रमा भने बीमकहरुको लगानी शुन्य जस्तै देखिएको हो ।
यसअघि प्राधिकरणले बीमा कम्पनीको स्थिर सम्पत्ति खरिद, निर्माण तथा बिक्री प्रक्रियालाई थप व्यवस्थित बनाउने भन्दै ‘बीमकको स्थिर सम्पत्ति निर्देशन, २०८१’ जारी गरेको थियो । जसमा बीमा कम्पनीहरुको घरजग्गा कारोबारलाई विशेष केन्द्रीत गरिएको छ ।
पछिल्लो समय बीमा कम्पनीहरु लगानी विविधिकरणतर्फ उन्मुख हुँदै जाँदा प्राधिकरणले भने बीमकको घरजग्गा कारोबारलाई बाधक बन्ने गरी निर्देशन जारी गरेको थियो । यो निर्देशिकाले पनि केही हदसम्म बीमा कम्पनीहरुलाई यो सेक्टरमा लगानी गर्न बाधा पुगेको देखिन्छ ।
बीमकले घरजग्गाको कारोबार गर्नलाई व्यवसायको आकार, प्रकृति, जोखिम प्रोफाइल, संचालन जटिलता एवम् कारोबारको विशिष्टताका आधारमा तरलता व्यवस्थापन सुनिश्चित गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।
साथै विगत दुईवर्षदेखि निरन्तर खुद मुनाफामा सञ्चालन भएको र सञ्चित नोक्सानीमा नरहेको हुनुपर्ने, प्राधिकरणले तोकेको सोल्भेन्सी रेसियो कायम भएको हुुनुपर्ने समेत निर्देशिकामा रहेको छ ।
प्राधिकरणको लगानी निर्देशिका बमोजिम बीमा कम्पनीहरुले कुल लगानीको १० प्रतिशत रकम घरजग्गा क्षेत्रमा लगानी गर्न पाउने व्यवस्था छ । तर बीमा कम्पनीहरु यो क्षेत्रमा लगानीका लागि हात बढाउन सकिरहेका छैनन् ।
प्राधिकरणका अनुसार बीमकहरुले शहरी विकास व्यवस्थित बसोबासलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाल सकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त निर्माणाधिन वा निर्माण हुने संयुक्त वा सामूहिक आवास योजनामा लगानी गर्नुपर्ने व्यवस्था छ ।
साथै एउटै क्षतिले एक लगानी गरिएको बाहेक अर्कोलाई असर पार्ने वा एउटै इकाईको रुपमा मानिने गरी नजिकै रहेका घरजग्गामा लगानीको २।५ प्रतिशत भन्दा बढी लगानी गर्न नपाइने पनि व्यवस्था छ ।
प्राधिकरणका अनुसार केही बीमकहरुले रियल स्टेट क्षेत्रमा लगानी गर्न अनुमति मागेपनि हालसम्म यो सेक्टरमा बीमकहरुको लगानी बढ्न सकिरहेको छैन । प्राधिकरण स्रोतका अनुसार नेपाल लाइफ, नेको इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ, सिटिजन लाइफ र हिमालयन लाइफले घरजग्गा कारोबारमा लगानी गर्न अनुमति मागेका थिए । जसमा गत आवको अन्त्यसम्म हिमालयन लाइफले मात्रै यो क्षेत्रमा लगानी गरेको छ । रियल स्टेट सेक्टरमा लगानीका लागि अनुमति मागेपनि बीमा प्राधिकरणको निर्देशिका बीमकहरुको लगानीमा बाधक बन्न पुगेको छ ।
प्राधिकरणले बीमा कम्पनीलाई लगानी विविधिकरण गर्न निर्देशन दिदै आएपनि यो क्षेत्रमा बढी जोखिम हुने भएकाले लगानी व्यवस्थित बनाउने हेतुले बीमकको स्थिर सम्पत्ति निर्देशन जारी गरेको जनाएको छ ।
तर प्राधिकरणको स्थिर सम्पत्ति सम्बन्धी निर्देशिकामा बढी घरजग्गा कारोबारलाई नै केन्द्रित गरिएको हुँदा बीमा कम्पनीहरुको यो क्षेत्रमा लगानी सहज तरिकाबाट बढ्न नसक्ने देखिएको छ ।
केही बीमा कम्पनीका सीइओहरु भने रियल स्टेट सेक्टरमा लगानी गर्ने वातावरण अझै उचित नभइसकेको बताउँछन् । अन्य सेक्टरमा जस्तो रियल स्टेट सेक्टरमा लगानी गर्दा भनेको समयमा रिटर्न आउन नसक्ने उनीहरुको भनाई छ ।
चौथो त्रैमाससम्ममा बीमा कम्पनीहरु सेयरबजारतर्फ सिफ्ट भएको देखिन्छ । सो अवधिसम्म बीमकहरुको सेयरबजारमा मात्रै ४० अर्ब ८२ करोड ९० लाख रुपैयाँ लगानी रहेको छ । यो लगानी रकम अघिल्लो आवको तुलनामा ६८.९२ प्रतिशत बढी हो । अधिकांश बीमा कम्पनीहरुले यो सेक्टरमा लगानी उल्लेख्य बढाएका छन् ।