काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का सञ्चालक समितिका अधिकांश सदस्य सीडीएससीले गरेको सिफारिसअनुसार संस्थापक र सर्वसाधारण सेयरमा २ वटा फरक–फरक आइजीन(‘इन्टरनेसनल सेक्यूरिटिज आइडेन्टिफिकेसन नम्बर) दिने व्यवस्थाको कार्यान्वयन प्रक्रिया रफ्तारमा अगाडि बढाउने विषयमा सहमत भएका छन् ।
सेबोनको मंगलबार बसेको सञ्चालक समितिको बैठकमा अधिकांश सदस्यहरुले संस्थापक र सर्वसाधारण सेयरमा २ वटा फरक–फरक आईजीन दिने गरी सिडिएसीबाट आएको मस्यौदालाई कार्यान्वयनको बाटोमा अगाडि बढाउन सहमति जनाएका हुन् ।
सञ्चालक समितिको बैठकले सिडिएससीबाट आएको निर्देशिकाको मस्यौदालाई कानूनी प्रवलीकरणका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ । अब सेबोनस्थित कानूनी प्रवलीकरण समितिले मस्यौदा अध्ययन गरी सच्याउनुपर्ने विषयसहित पुनः सञ्चालक समितिमा फर्काउनेछ र त्यसपछि सेबोनको आगामी बोर्ड बैठकबाट यो व्यवस्था कार्यान्वयनमा ल्याइनेछ ।
'बोर्ड बैठकले कानूनी प्रवलीकरण समितिलाई जतिसक्दो चाँडो मस्यौदा हेरेर सच्याउनुपर्ने कुनै विषय भए उल्लेख गरेर पठाउन भनिएको छ ।' एक सञ्चालकले भने-'सम्भवतः यो काम एकसाताभित्र भइसक्नेछ र भदौभित्र दुईवटा आईजीन सम्बन्धी व्यवस्था कार्यान्वयनमा आइसक्नेछ ।'
मंगलबारको बोर्ड बैठकले दुईवटा आईजीनसम्बन्धी व्यवस्था अगाडि बढाउने निर्णय गर्नुअघि सञ्चालकहरुले आ–आफ्नो धारणा राखेका थिए । सो क्रममा नेपाल उद्योग वाणिज्य महासंघबाट सञ्चालकको रुपमा प्रतिनिधित्व गरेका हेमराज ढकालले बजारको विकृति अन्त्यका लागि पनि दुईवटा आईजीन आवश्यक रहेको र यो कार्यान्वयन गर्ने क्रममा व्यवसायी(संस्थापक सेयरधनी)लाई समेत सहजीकरण गरेर जानुपर्नेमा जोड दिएका थिए । 'यो व्यवस्था कार्यान्वयनमा ल्याउनु नै बजारका लागि हितकर देखिन्छ ।' ढकाललाई उद्धृत गर्दै स्रोतले भन्यो-'तर लकइन अवधि सकिएपछि प्रमोटर सेयर साधारण सेयरमा कन्भर्जन हुने प्रक्रिया समेत झञ्झटरहित र सहज बनाइनुपर्छ ।'
अरु सञ्चालकहरुले दोहोरो आईजीनको आवश्यकताप्रति एउटै मत जाहेर गरेका थिए ।
तर राष्ट्रबैंकबाट सञ्चालकको रुपमा प्रतिनिधित्व गरेका विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले मात्र दोहोरो आईजीनको व्यवस्थाको विरोधमा आफ्नो विचार राखेका थिए । उनी सिडिएससीले सिफारिस गरेको मस्यौदा कार्यान्वयन गरेर जानै नहुने अडानमा देखिएका थिए । मंगलबारको बैठकमा दोहोरो आईजीन सम्बन्धी व्यवस्थाको विरोधमा नेपाल मात्र प्रस्तुत भएका थिए ।
यस्तो छ सेबोनको तयारी
सेबोनले दोहोरो आईजीनको व्यवस्था कार्यान्वयनमा लैजाने गरी आवश्यक निर्णय गर्ने र यो क्रममा संस्थापक सेयरधनीहरुलाई समेत सहज हुने खालको व्यवस्था समेत लागू गर्ने गरी अगाडि बढ्ने देखिएको छ । संस्थापक सेयरधनीहरुका लागि समेत सहज व्यवस्था ल्याइनुपर्छ भन्ने कुरामा बोर्ड व्यवस्थापन निश्कर्षमा पुगेलगत्तै सञ्चालक समितिले पनि समर्थन गरेपछि अब कार्यान्वयनको प्रक्रिया अझ तीव्र हुने देखिन्छ ।
स्रोतकाअनुसार दोहोरो आईजीनको व्यवस्था गरेरै अगाडि बढ्ने विषयमा बोर्ड नेतृत्वलाई अर्थमन्त्रीदेखि मन्त्रालयको सम्बन्धित विभागले समेत साथ दिएको छ । यो विषयमा बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले अर्थमन्त्रालयको समेत सहमति लिइसकेका छन् ।
लामो समयदेखि थियो विवाद
धितोपत्र बोर्ड, नेप्से र सीडीएससीमा नयाँ नेतृत्व आएपछि केही नयाँ विषय पनि आएका छन् । खासगरि सीडीएससीले संस्थापक र सर्वसाधारण सेयरमा २ वटा फरक–फरक आइजिन दिने अडान राखेपछि यो विषय लामो समयदेखि विवादमा रहेको छ ।
सीडीएससीले बीमा , बैंक तथा वित्तीय क्षेत्रहरुको हकमा २ वटा आईजिन दिने गरेको छ । तर बाँकी रहेका क्षेत्रमा एउटै आईजिन दिने गरेको देखिन्छ । धितोपत्र कारोबार डिम्याट हुन थालेपछि हरेक कम्पनीहरुलाई आईजिन दिने गरिएको छ । यसमा देशको नामसहितको नम्बर दिईएको हुन्छ ।
सीडीएससीले धितोपत्र अभौतिकरण कार्य सञ्चालन निर्देशिका २०८२ पारित गरेर सेबोनमा पठाएपछि यो विषय लामो समयसम्म अनिर्णित अवस्थामा थियो । तर, सेबोन दुईवटा आईजीनको पक्षमै देखिएपछि चाँडै यो विषयमा निश्कर्ष आउने देखिएको छ ।
सर्वसाधारण सेयर लगानीकर्ताहरु २ वटा आईजीन हुनुपर्ने पक्षमा छन् । संस्थापक सेयरधनी र खासगरी जलविद्युत कम्पनीका प्रमोटरहरु भने यसको विपक्षमा छन् ।
के छ सीडीएसीको निर्देशिकामा ?
सीडीएससीले तयार पारेको धितोपत्र आभौतिकरण निर्देशिका २०८२ मा अब सर्वसाधारणमा जाने सबै कम्पनीेहरुले लकइन अवधिभर २ वटा आइजिन अनिबार्य गरेको छ । तर लकइन अवधि सकिए पछि कम्पनीहरुले साधारण सभाको बैठक बसी धितोपत्र बोर्डको स्वीकृति लिएर एउटै आइजिन बनाउन सक्नेछन ।
जसको लागि सर्वसाधरणहरुलाई जानकारी दिन २ पटक सार्वजनिक सूचना जारी गर्नुपर्ने पनि निर्देशिकमा उल्लेख छ ।
त्यसैगरि उक्त निर्देशिकाको दफा ७ को उपदफा २ मा भनिएको छ, ‘यस निर्देशिकामा लागू हुनु पूर्व संस्थापक र सर्वसाधारण समूहको धितोपत्रमा एउटै आइजिन दिइ लक इन अवधि समाप्त नभएको धितोपत्रको समेत यस निर्देशिका लागू भए पश्च्यात फरक–फरक आइजिन हुनेछ ।’
हाल एउटै आइजिन भएका तर लकइन अवधि नसकिएका कम्पनीहरुलाई समेत यस निर्देशिकाले छुनेछ ।
सेबोनले प्रस्तावित यो व्यवस्थामा केही परिमार्जन गर्नेछ । लकइन अवधि सकिएलगत्तै बिना झञ्झट संस्थापक सेयरहरुलाई साधारण सेयरमा परिणत गर्ने भरपर्दो व्यवस्था लगायतका विषय थपेर यसलाई फाइनल गर्न लागिएको स्रोतको भनाई छ ।