काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले सामूहिक राजीनामा दिने निर्णय गरेका छन्। संसदीय दलको मंगलबार बसेको बैठकमा विकसित घटनाक्रमलाई मध्यनजर गर्दै यस्तो तयारी गरिएको एक सांसदले जानकारी दिएका छन्।
सांसदका अनुसार, “देशको अवस्था हेर्दा अब संसद्मा बस्ने कुनै औचित्य छैन, सबै सांसद राजीनामा गर्न तयार भएका छौं।” रास्वपाका प्रवक्ता मनिष झाले बैठक सुरु भएको पुष्टि गरेका छन्।
यसअघि सहकारी ठगी प्रकरणमा थुनामा रहेका सभापति रवि लामिछानेले सोमबार साँझ आफ्ना सांसदलाई माग सम्बोधन नभए राजीनामा गर्न तयार रहन निर्देशन दिएका थिए।
जेनजी युवाहरूको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर १९ जनाको मृत्यु भएपछि मुलुकभर आक्रोश चुलिएको छ। सामाजिक सञ्जाल बन्द गर्ने निर्णय र शासकीय अव्यवस्थाको विरोधमा आन्दोलन सडकसम्म फैलिएको छ।
मंगलबार पनि काठमाडौंसहित देशभर प्रदर्शन भइरहेका छन्। प्रदर्शनकारीहरूले संसद् विघटन र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरिरहेका छन्। प्रतिनिधिसभामा रास्वपाका २१ सांसद रहेका छन्, जसमा सांसद असिम शाहले यसअघि नै पदत्याग घोषणा गरिसकेका छन्।