काठमाण्डौ । पूर्वराजा ज्ञानेन्द्र शाहले जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा मानवीय क्षति हुनु निकै दुःखद् र निन्दनीय भएको प्रतिक्रिया व्यक्त गरेका छन्।
उनको संवाद सचिवालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ कि जेनजीका होनहार किशोर–किशोरी र युवा–युवतीहरूले देश र समाजका लागि केही सकारात्मक काम गर्ने उद्देश्य राखेर काठमाडौँसहित विभिन्न स्थानमा विरोध प्रदर्शनमार्फत आक्रोश पोखेको विषय आम चासोको हो।
विज्ञप्तिमा भनिएको छ, “युवा पुस्ताका जायज मागलाई सम्बोधन नगरी ज्यान लिनु र सयौँलाई घाइते पार्नु अत्यन्त दुःखद् एवं निन्दनीय कार्य हो। यो घटना शान्ति प्रिय नेपाली समाजको मान्यता विपरीत छ।”
घटनामा ज्यान गुमाएका होनहार आत्माप्रति पूर्वराजा र पूर्वराजपरिवारका सदस्यहरूले हार्दिक श्रद्धाञ्जली अर्पण गरेको र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
पूर्वराजाले आगामी आन्दोलन हिंसात्मक नबनोस्, अराजकता नफैलोस् र यसमा कसैको दुरुपयोग नहोस् भन्ने आशा पनि राखेका छन्।
त्यसैगरी, हाल उठेका सुशासन र आर्थिक अनियमिततासम्बन्धी विषयलाई ध्यानमा राख्दै देशभित्रैबाट समस्याको समाधान निकालियोस् भन्ने चाहनासमेत पूर्वराजाले व्यक्त गरेका छन्।