काठमाण्डौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशमा उत्पन्न वर्तमान राजनीतिक संकट समाधानका लागि राष्ट्रपति र प्रतिनिधिसभाका सभामुखको समन्वयमा वैधानिक प्रक्रियामार्फत नयाँ मन्त्रिपरिषद गठन गर्नुपर्ने बताएकी छन् । उनले बिहीबार एक विज्ञप्ति जारी गर्दै यस्तो बताएकी हुन् ।
भण्डारीले विज्ञप्तिमा भनेकी छन्, ‘प्रधानमन्त्रीले राजीनामा दिएपछि सरकार कामचलाउ अवस्थामा छ। तर संविधानले सुनिश्चित गरेका राष्ट्रपति र जननिर्वाचित संसदजस्ता संस्थाहरू विद्यमान छन्। त्यसैले वैधानिक प्रक्रियामार्फत नयाँ सरकार गठन गर्नुपर्ने हुन्छ ।’
यस्तै उनले युवा पुस्ताको आन्दोलनलाई लोकतान्त्रिक मूल्य र मान्यतासहित सही दिशातर्फ उन्मुख गराउनुपर्ने बताउँदै हिंसा र तोडफोडबाट राज्य तथा सम्पदामा पुगेको क्षतिको गम्भीर छानबिन गर्नसमेत आग्रह गरेकी छन्।