काठमाण्डौ । जेनजी आन्दोलनका कारण बन्द भई सेयर कारोबार खुलेको पहिलो दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) केही मिनेटमै बन्द भएको छ ।
जेनजी आन्दोलनका कारण लगानीकर्ताको गिरेको मनोबलको प्रतिबिम्ब बजारमा पनि देखिएको हो । जसका कारण कारोबार खुलेदेखि नै बजारमा भीषण पहिरो गएको छ ।
बिहबिार कारोबार सुरु भएको २ मिनेटमै नेप्से ४ प्रतिशतले घटेपछि पहिलो नेगेटिभ सर्किट लगाइएको थियो । २० मिनेट रोकेर पुनः कारोबार सुरु गरिए पनि १ मिनेटमै ५ प्रतिशतले नेप्से भटेपछि दोश्रो नेगेटिभ सर्किट लगाई कारोबार ४० मिनेटका लागि स्थगित गरिएको थियो ।
त्यसपछि पुनः खुलेको बजारको भीषण पहिरो रोकिएन । फलस्वरुप केही मिनेटमै नेप्से ६ प्रतिशतले घटेपछि नियमअनुसार बजारको सम्पूर्ण कारोबार आजका लागि रोकिएको हो ।
खासगरी जेनजी आन्दोनलनका कारण देशभर विध्वंश मच्चिँदा र ठूलादेखि साना लगानीकर्ताहरुको सम्पत्ति, व्यवसायमा आक्रमण हुँदा सेयर बजारका लगानीकर्तामा पनि त्यसको नकारात्मक प्रभाव देखिएको हो ।
नेप्सेमा सूचिकृत केही होटल तथा अन्य समूहका कम्पनीमा आन्दोलनकारीले ठूलो क्षति पुर्याएका छन् ।
देशभरको सार्वजनिक तथा निजी सम्पत्ति, सवारी साधन लगायतमा भएको क्षतिका लागि निर्जीवन बीमा कम्पनीहरुमा ३० अर्बभन्दा बढीको बीमा दाबी परिसकेको तथ्यहरु बाहिरिएका छन् । यसले बजारमा सूचीकृत निर्जीवन बीमा कम्पनीहरुको सेयरमा खरीद गर्न चाहने कोही छैनन्, सबै बिक्रीका लागि लाइन लागेर बसेका देखिएको छ ।
देशमा मच्चिएको विध्वंशका कारण आर्थिक वृद्धिमै धक्का पुग्ने र जीडीपीको ग्रोथमै समेत समस्या हुने विश्लेषणहरु बाहिर आइरहँदा समग्र बजारलाई त्यसको लप्काले खाएको विश्लेषकहरु बताउँछन् ।
उनीहरुका अनुसार देशको विषम राजनीतिक तथा आर्थिक परिस्थितिका कारण हच्किएका सेयर लगानीकर्ताको मनोबल नउकासेसम्म नेप्सेमा नेगेटिभ सर्किटको श्रृंखला अझै बढ्नसक्ने जोखिम छ ।