काठमाण्डौ । सेयर बजारमा कुनै समय नेपाल टेलिकमको सेयर चलाएर बजार प्रभावित पारिन्थ्यो । अहिले त्यो रोग विशाल बजार कम्पनीमा सरेको देखिन्छ । बजारमा खेलाडीहरुले बजार तलमाथि गर्न हाई क्यापिटल भएका कम्पनीहरुमा १० कित्ताले तल माथि गरेका हुन्छन् । जसलाई बोलिचालीको भाषामा हाई क्याप भएका भएका कम्नपी पनि भनिन्छ ।
अहिलेको ग्रूप ट्रेडिङमा यस्तो प्रवृत्ति झनै मौलाएको छ । एउटै समूहका लगानीकर्ताहरुले आफै किनबेच गरेर बजार नै तलमाथि गर्ने गर्छन् ।
पछिल्लो समय विशाल बजार कम्पनीको सबै पूँजी नेप्सेमा गणना हुन थाले पछि यो कम्पनी हाई क्यापको श्रेणीमा पर्न थालेको छ । नेप्सेको आजको बजार पूँजीकरण ४१ खर्ब ९९ अर्ब रहेको छ । कम्पनीको बजार पूँजीकारण २ खर्ब २४ अर्ब रहेको छ ।
नेप्सेमा कम्पनीको हिस्सा ५.३३ प्रतिशत रहेको छ । यहि कारण सेयर बजारमा बीबीसीको १० कित्ता सेयर नेप्सेको २ प्रतिशतको नियम अन्ुसार तल माथि गर्दा पूरै सेयर बजार नै तरंगित हुन्छ । यो कम्पनी पूँजीका आधारमा नेप्सेमा सूचीकृत सबै भन्दा ठूलो कम्पनी हो तर फ्लोटेड सेयर भने सबै भन्दा कम छ । यहि फाइदा उठाएर दोस्रो बजारमा बीबीसी चलाएर सेयरको सूचक सहजै तल माथि गर्ने गरिन्छ । जुन विषयका बारेमा नियामक निकायहरु जानकार नभएका पनि होइनन् । तर नियामकले यस्तो चलखेल रोक्न हालसम्म कुनै प्रयास गरेको पनि देखिदैन ।
त्यसैगरि दोस्रो ठूलो बजार पूँजीकरण भएको कम्पनी नेपाल रि–इन्स्योरेन्स कम्पनी हो । यो कम्पनीको दोस्रो बजारमा ४.६९ प्रतिशत , नेपाल टेलिकमको ३.४६ प्रतिशत , नबिल बैंकको ३.११ प्रतिशत , नागरिक लगानी कोषको २.७३ प्रतिशत , हिमालयन रि –इन्स्योरेन्सको २.२७ प्रतिशत , ग्लोबल आइएमइ बैंकको २.०८ प्रतिशत र एभरेष्ट बैंकको २.०७ प्रतिशत हिस्सा रहेको छ ।
प्यानिक बजारमा कसरी हुन्छ बीबीसीको चलखेल ?
प्यानिक अवस्थामा बजार घटाउन बीबीसी तथा नेपाल रि–इन्स्योरेन्स जस्ता कम्पनीको सेयरमूल्यमा बढी चलखेल हुने गर्छ । बिहीबारको बजारमा पनि यस्तै दृश्य देखिन्थ्यो । लामो समयपछि खुलेको बजारमा लगानीकर्ता प्यानिक भएको बेला अपरेटरहरुले बजारमा नेगेटिभ सर्किट लगाउन यी कम्पनीमा बिक्री दबाब दिएको देखिन्थ्यो ।
फलस्वरुप बिहीबारको कारोबारमा बीबीसीको जम्मा ३४० कित्ताको कारोबारमा सेयरमूल्य १० प्रतिशतले नै घट्यो । जसका कारण सेयर बजारमा प्यानिक सेल भएर बजारमा नेगेटिभ सकिर्ट लाग्न पुग्यो ।