काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले बडादसैँ २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति शुभकामना व्यक्त गरेकी छिन्।
आफ्नो स्वकीय सचिवालयमार्फत आइतबार शुभकामना सन्देश जारी गर्दै उनले विश्वभर छरिएका नेपालीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र प्रगतिका लागि मंगलकामना प्रकट गरिन्।
तर, यसपटक उनले विजयादशमीको टीका नलगाउने घोषणा गरेकी छन्। गत भदौमा भएको जेनजी आन्दोलनको क्रममा धेरै युवाले ज्यान गुमाएको पीडालाई स्मरण गर्दै यस वर्ष आफूले टीका–जमरा नलगाउने र अरुलाई पनि नलगाइदिने निर्णय गरेको उनको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, “बडादसैँ हर्षोल्लासका साथ मनाइने महत्वपूर्ण चाड भए पनि हालै सम्पन्न युवापुस्ताको आन्दोलनमा अनेक परिवारले अपूरणीय क्षति व्यहोर्नुपरेको पीडा अझै ताजा छ। त्यसैले यसपटक प्रधानमन्त्रीज्यूले टीका जमरा ग्रहण नगर्नुहुने र अन्यलाई पनि नलगाइदिने जानकारी गरिन्छ।”
सन्देशमार्फत उनले निर्धारित समयमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता दोहोर्याएकी छन्। साथै, सुशासन प्रवर्द्धन र देशलाई विकासको मार्गमा अघि बढाउन सबैलाई एकजुट हुन आह्वान गरेकी छन्।
