काठमाण्डौ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका साला भूषण राणासम्बन्धी परिवार बस्ने घरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छापा मारेको छ।
आइतबार ललितपुर महानगरपालिका–४, जावलाखेलस्थित राणाको घर र उनका बुवाआमा बस्ने अर्को घरमा छुट्टाछुट्टै रूपमा सीआईबीको टोली पुगेको थियो। भूषण भने त्यतिबेला घरमा अनुपस्थित थिए भने उनका बुवाआमा घरमै रहेका थिए।
सीआईबी स्रोतका अनुसार, शंकास्पद नगद वा कागजात रहेको भन्ने सूचनाका आधारमा छापा मारिएको हो। तर, खोजतलासीका क्रममा कुनै पनि आपत्तिजनक वा शंकास्पद सामग्री फेला परेको छैन।
“भूषण राणा उपस्थित हुनु भएन, उनका अभिभावक बस्ने घरमा पनि केही भेटिएन,” सीआईबीका एक अधिकारीले जानकारी दिए।
छापा मार्ने कार्य स्थानीय वडाध्यक्षको रोहवरमा सम्पन्न गरिएको र त्यसबारेको मुचुल्का समेत तयार गरिएको प्रहरीले जनाएको छ।