आईतवार, श्रावण १०,२०८३ 06:38:56
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 06:38:56
Bizshala
Global IME Bank Limited

अर्थमन्त्री खनालको वासिङटन डीसीमा विश्व बैंक र आईएमएफ अधिकारीहरूसँग भेटवार्ता, के-के भयो कुराकानी ?

अर्थमन्त्री खनालको वासिङटन डीसीमा विश्व बैंक र आईएमएफ अधिकारीहरूसँग भेटवार्ता, के-के भयो कुराकानी ?
New Office

काठमाण्डौ । संयुक्त राज्य अमेरिकामा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को वार्षिक बैठकका क्रममा नेपालका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले दुवै संस्थाका उच्च अधिकारीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।  

अर्थमन्त्री खनालले विश्व बैंक समूहकी प्रवन्ध निर्देशक आन्ना बेजर्डेसँगको भेटमा नेपालमा हालै सम्पन्न राजनीतिक परिवर्तनपछि बनेको सरकारको प्राथमिकता पारदर्शिता, सुशासन र तोकिएको समयमा निर्वाचन सम्पन्न गराउनेतर्फ रहेको स्पष्ट पारेका अर्थमन्त्रीले एक विज्ञप्ति जारी गरी जनाएको छ । उनले व्यवसायिक वातावरण सुधारका लागि आवश्यक संस्थागत र कानुनी सुधारहरूलाई तीव्रता दिने सरकारको प्रतिबद्धता व्यक्त गरेका थिए ।  

खनालले विश्व बैंकले नेपालमा पुर्‍याउँदै आएको दीर्घकालीन सहयोगका लागि धन्यवाद दिंदै आगामी दिनमा सहकार्यलाई अझ सुदृढ बनाइने बताए ।  

जवाफमा प्रवन्ध निर्देशक बेजर्डेले अन्तरिम सरकारसँग विश्व बैंक सहकार्य गर्न इच्छुक रहेको र नेपालको आर्थिक तथा विकास व्यवस्थापन सुधारका विषयमा निरन्तर सहयोग गर्ने आश्वासन दिइन् ।  

त्यसैगरी, अर्थमन्त्री खनालले अन्तर्राष्ट्रिय मुद्रा कोषका उपप्रबन्ध निर्देशक बो लीसँग पनि भेटवार्ता गरेका विज्ञप्तिमा उल्लेख छ । उनले नेपालको आर्थिक सुधारमा कोषको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै “विस्तारित कर्जा सुविधाअन्तर्गतका बाँकी सुधारका कामलाई अघि बढाइने जानकारी दिए।

बो लीले उक्त सुविधाको छैटौं समीक्षा सफलतापूर्वक सम्पन्न भएकोमा नेपाल सरकारलाई बधाई दिँदै, आगामी आर्थिक सुधारका लागि कोषको निरन्तर सहयोग रहने बताएका थिए।

सो भेटमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल पनि उपस्थित थिए ।  

यसैबीच, अर्थमन्त्री खनालले नेपाल अमेरिका चेम्बर अफ कमर्सद्वारा आयोजित अन्तर्क्रिया कार्यक्रममा सम्बोधन गर्दै सरकार विदेशी तथा स्वदेशी लगानीको लागि सहज वातावरण बनाउन प्रतिबद्ध रहेको बताए ।

उनले कर कानुनका अस्पष्टता हटाउने, नाफा फिर्ता प्रक्रिया सरलीकरण गर्ने र व्यवसाय सुरु तथा बन्द गर्ने प्रक्रिया सजिलो बनाउने कार्यहरू अघि बढाइने उल्लेख गरे ।  

कार्यक्रममा उपस्थित कम्पनी प्रतिनिधिहरूले कर नीति र नियमनका केही प्रावधानहरूले लगानीकर्ताहरूलाई असहज बनाएको गुनासो राखेका थिए।

खनालले आर्थिक ऐन तयार पार्ने क्रममा यी विषयमा पर्याप्त छलफल गरी समाधान निकालिने र आवश्यक नीतिगत सुधारहरू गरिने विश्वास दिलाएका थिए ।  

अर्थमन्त्री खनालले विश्व बैंकका दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष जोहानेस जुटसँग पनि भेट गरी नेपालमा सञ्चालित विकास आयोजनाहरूको कार्यान्वयनमा देखिएका चुनौतीबारे छलफल गरेका अर्थ मन्त्रालयले जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.