काठमाण्डौ । नेपालमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला सुनको मूल्य २ लाख ४८ हजार ५०० रुपैयाँ पुगेको छ, जुन अहिलेसम्मकै सर्वाधिक दर हो। सोमबार मात्र सुन प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको थियो। यसरी २४ घण्टामै सुनको मूल्य तोलामा ८ हजार १०० रुपैयाँले उक्लिएको हो।
महासंघले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य तीव्र गतिमा बढिरहेको र त्यसको सीधा प्रभाव नेपाली बजारमा देखिएको बताएको छ। आर्थिक अनिश्चितता, भू-राजनीतिक तनाव र लगानीकर्ताको सुरक्षित लगानीप्रतिको आकर्षणले सुनको माग बढेको विश्लेषण गरिएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि उकालो लाग्दै हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। सोमबार प्रतितोला ३ हजार २२० रुपैयाँमा रहेको चाँदी मंगलबार बढेर ३ हजार ३२५ रुपैयाँ पुगेको छ। विशेषज्ञहरूका अनुसार सुन–चाँदी दुबैको मूल्य अझ केही दिन उतारचढावका बीचमा उच्च स्तरमै रहिरहने सम्भावना छ।