काठमाण्डौ । नेपालको राजनीतिक परिवेश फेरि एकपटक एमाले अध्यक्ष केपी शर्मा ओलीको शब्दका कारण तात्तिने देखिएको छ ।
शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित चियापान कार्यक्रममा उनले सरकारको ‘मौखिक आदेश र प्रशासनिक मनपरी’ बढेको भन्दै आक्रोश पोख्दै कतिपय निर्णयको विषयमा कार्यान्वयन गरेर देखाउन चुनौति समेत दिए ।
उनको भनाइले देशको राजनीतिक अवस्था अझ उत्तेजक हुने र मूठभेडको पृष्ठभूमि तयार हुने जोखिम समेत बढाउने देखिएको छ ।
ओलीले आफूलाई झापा जान नदिने, उपत्यका छोड्न रोक लगाउनेजस्ता कार्यलाई असंवैधानिक र तानाशाही चरित्रको अभ्यास भने । उनले भने,“झापा मेरो घर जलाइयो, म जान नपाउने ? साँगा कटेर जान नपाउने ? के कानुनले समाउँछ ? कुन लोकतन्त्रले थुन्छ ? मौखिक आदेशमा देश चलाउने ? यो कहाँको लोकतन्त्र हो ?”
त्यो भनाइमा उनले न केवल व्यक्तिगत रोष देखाए, तर राज्य संयन्त्रको दुरुपयोगविरुद्ध गहिरो सन्देश पनि दिए ।
राजनीतिक विश्लेषकहरूका अनुसार ओलीको यो प्रतिक्रिया सरकारप्रति बढ्दो अविश्वास, आगामी चुनावी समीकरण, र प्रशासनिक नियन्त्रणको प्रयोगबारे चासोको संकेत हो ।
अर्कोतर्फ ओलीले अहिलेको सरकारलाई “म्याद नभएको म्यादी सरकार” भन्दै कठोर टिप्पणी गरे । उनका अनुसार,“यो सरकार जग नभएको हो । यसलाई हल्लाउँदा हल्लिन्छ, पुक्लुक्कै उड्छ । कति जग भएका सरकारहरू बलजफ्ती फ्याँकिए, यो त जगै नभएको हो ।”
उनले सरकारको वैधानिक आधार कमजोर, राजनीतिक शक्ति अस्थिर, र जनसमर्थन स्खलित भएको आरोप लगाए ।
ओलीको अर्को आरोप अझै गम्भीर थियो । उनले भने, "अपराधीहरू प्रहरीको बर्दीमा हातहतियार बोकेर चुनावको बुथमा पुग्ने अवस्था छ । के सम्झौता छ सरकारको ती अपराधीसँग ?”
यस वक्तव्यले सुरक्षा संयन्त्रमा राजनीतिक प्रभाव र निर्वाचन व्यवस्थामाथिको शंका उजागर गर्छ । विश्लेषकहरूले यसलाई ओलीको चुनावी रणनीति तयारी र प्रतिपक्षीमाथिको मनोवैज्ञानिक दबाब सिर्जना गर्ने प्रयासका रूपमा हेरेका छन् ।
राजनीतिक विज्ञहरूले ओलीको वक्तव्यलाई केवल व्यक्तिगत असन्तोषको रूपमा होइन, मूठभेड बढाउन उद्यत गलत अभिव्यक्तिको संज्ञा दिएका छन् ।
पहिलो, उनले आफ्नो पार्टीलाई ‘प्रतिरोधी भूमिकाबाट चुनावी अग्रभागमा ल्याउने प्रयास’ गरेका छन्।
दोस्रो, उनले सरकारको वैधानिकता र नीतिगत कमजोरीमाथि प्रश्न उठाएर जनमत आर्जन गर्न खोजेका छन्।
र तेस्रो, सरकारसँग पटक पटक निहुँ खोजेर फेरि मुलुकमा मूठभेडलाई उनले आफ्ना अभिव्यक्तिहरुबाट दैनिकजसो निम्ता दिइरहेका छन् ।
उनका पछिल्ला अभिव्यक्तिहरु जेनजी आन्दोलनका शहीद, घाइतेप्रति श्रद्धाञ्जली सहानुभूति प्रकट गर्न भन्दा सरकारको आलोचना गर्न, जेनजी आन्दोलनलाई तुच्छ शब्द प्रयोग गरी उल्लाउनमै बढी केन्द्रीत देखिन्छ । उनमा जेनजी आन्दोलनअघिको भन्दा बढी अहम् पछिल्लो समय देखिन्छ ।
ओलीले अन्त्यमा भने, “हामी जेलभित्र बसेर संघर्ष गरेका हौँ । हामी हुतिहारा होइनौं । लोकतन्त्र थुन्न खोज्नेहरूको युग अब समाप्त हुँदैछ ।”