काठमाण्डौ । नेपालको सेयर बजारलाई निश्चित संख्याका स्वार्थ समूहले वर्षौदेखि आफ्नो अनुकुल चलाउँदै आएका छन् । निश्चित कम्पनीको सेयरमा चलखेलको योजना बनाएर बेलैदेखि अकुमुलेसन गर्ने, सम्भावित राम्रो लाभांश र सम्पत्ति वृद्धिका लागि हुने निर्णयहरुमा केन्द्रीत रही सूचीकृत कम्पनीका प्रमुख व्यक्तिहरु नै यस्ता खेलमा सामेल हुने, स्वार्थ समूहको मिलेमतोमा बजारमा राम्रो प्रभाव जमाउनसक्ने र सोझा लगानीकर्ताको मन बहलाउनसक्ने ब्रोकरलाई समेत प्रयोग गर्ने लगायतका गतिविधि बजारका लागि सामान्य जस्तै बनिसके । स्वार्थ समूह, ब्रोकर मिलेर सूचीकृत कम्पनीका जिम्मेवार अधिकारीहरुलाई प्रयोग गरी सूचना चुहाई कुनै पनि कम्पनीको सेयरमूल्यमा मनलाग्दी चलखेल गर्ने विषय पनि नयाँ होइन । तर सूचीकृत कम्पनीका सञ्चालक समितिका अध्यक्ष नै यस्तो खेलमा प्रत्यक्ष संलग्न भएको मात्र नभई ब्रोकरको कारोबार रुम(ट्रेडिङ रुम)लाई नै महिनौदेखि आफ्नो अखडा बनाएर आफू संलग्न कम्पनीको मूल्य मनलाग्दी बढाउने, नजिकका साथी, आफन्तको नाममा सेयर न्यून मूल्यमा किनाएर उच्च मूल्यमा सर्वसाधारणलाई भिडाएर कुस्त कमाउने नयाँ खेलको पर्दाफास भएको छ ।
प्रसङ्ग हो, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमीटेडको । यो कम्पनीको सेयरमूल्य बढाएर चुचुरोमा पुर्याउने मास्टरप्लान केही महिनाअघि नै बनाइएको धितोपत्र बोर्डले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको छ ।
उच्च स्रोतकाअनुसार एनआरएन कारोबार संकेतमा खरीदबिक्री हुँदै आएको यो कम्पनीको मूल्य बढाएर करोडौं कमाउने यो डरलाग्दो खेलमा प्रमुख पात्रको भूमिका उक्त कम्पनीकै सञ्चालक समितिका अध्यक्ष सीताराम थपलियाले निर्वाह गरेको प्रारम्भिक अनुसन्धानहरुले देखाएका छन् ।
थपलिया नेपालको सेयर बजारको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)का प्रमुख कार्यकारी अधिकृत भइसकेका व्यक्ति हुन् । उनले सन् २०१३ देखि २०१७ सम्म नेप्सेको सीईओको भूमिका निर्वाह गरेका थिए ।
सेयर बजारकै अर्को स्टेक होल्डर सिडिएस एण्ड क्लियरिङ लिमीटेडको चेयरमेन र डाइरेक्टर, धितोपत्र बोर्डकै सञ्चालक, नागरिक लगानीकोषको समेत सञ्चालक लगायत दर्जन हाराहारीका महत्वपूर्ण जिम्मेवारी रहिसकेका उनलाई सेयर बजारको कुनै पनि कम्पनीको सेयरमूल्य कसरी बढाउन सकिन्छ भन्ने निकै राम्रो ज्ञान हुनु स्वभाविक हो । पछिल्लो अनुसन्धानको क्रममा उनी र केही लगानीकर्ताहरुको मिलेमतोमा एनआरएनमा चलखेल गरी मूल्य बढाउने र करोडौं कमाउने खेलको योजना बनाइएको स्रोत दाबी गर्छ ।
कम्पनीको सेयरमूल्य बढाउने खेल कसरी खेल्दा सुरक्षित भइन्छ, नेप्से, सिडिएससी र धितोपत्र बोर्डको आँखा वा अनुसन्धानलाई कसरी छल्न सकिन्छ, लगायतका विषयमा पर्याप्त ज्ञान भएका थपलियाले एनआरएनको सेयरमूल्यलाई चुचुरोमा पुर्याउने खेल खेलिरहँदा केही गम्भीर गल्ती गरेका र प्रशस्त प्रमाणहरु छाडेका अनुसन्धानका क्रममा देखिएको छ । यिनै गल्ती र प्रमाणहरुलाई पछ्याएर धितोपत्र बोर्डले एनआरएन प्रकरणमा गम्भीर अनुसन्धान सुरु गरेको छ ।
ब्रोकर नै अखडा !
नेप्सेमा सूचीकृत कुनै पनि कम्पनीका सञ्चालकले ब्रोकरहरुसँग मिलेमतो गर्नु, सम्वेदनशील सूचना चुहाउनु गैरकानूनी हो । तर, सीताराम थपलियाले एनआरएनको अध्यक्ष भए पनि आफ्नो गैरकानूनी सेयर कारोबारको धन्दा चलाउने मुख्य अखडा नै ब्रोकर कम्पनीको ट्रेडिङ रुमलाई बनाउने गरेका थिए ।
उनले त्यहीँ बसेर एनआरएनको मूल्य बढाउने खेल खेलेका थिए । थुप्रै छलफल गरेका थिए र विभिन्न समूहहरुलाई निर्देशनहरु पनि दिने गरेका थिए । अनुसन्धानमा संलग्न अधिकारीहरुले आफूहरुलाई प्राप्त भिडियो, अडियो लगायतका प्रमाणहरुलाई उद्धृत गर्दै बिजशालासँग भनेका छन्–‘थपलियाको धन्दा र गतिविधि हेर्दा हामी आफैं चकित परेका छौं । कुनै हिन्दी मुभीभन्दा कमको छैन उनको गैरकानूनी धन्दा । नासा सेक्युरिटिजको कारोबार रुमलाई नै उनले अखडा बनाएर बजारमा खेल्ने गरेको विषय पुष्टि गर्ने प्रमाण नै पाइसकेका छौं।’
अनुसन्धान अधिकृतहरुले नाम लिएको नासा सेक्युरिटिजका जिम्मेवार अधिकारीहरुले भने आफूहरुमाथिको आरोपको खण्डन गरेका छन्।
मूल्य बढाएपछि बल्ल लाभांश र हकप्रद घोषणा

थपलिया नेतृत्वको समूहले एनआरएनको सेयरमूल्य महिनौदेखि योजनाबद्ध ढंगले बिस्तारै बढाउँदै लगेको प्रारम्भिक अनुसन्धानमै भेटिइसकेको छ । त्यसलाई अझ मिहीन ढंगले केलाउने काम भइरहेको स्रोतको दाबी छ ।
यो समूहले विगत लामै समूहदेखि एनआरएनको मूल्य लगातार बढाइरहेको थियो । मूल्य बढाउने आधारको रुपमा उसका पछिल्लो केही त्रैमासमा बित्तीय विवरणहरुमा प्रशस्तै छेड्खानी गर्ने काम गरिएको थियो । उदाहरणका लागि आर्थिक वर्ष २०८१ ८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरणमा कम्पनीको प्रतिसेयर आम्दानी(इपीएस) ५२.२३ रुपैयाँ देखाइएको थियो । कुल १ अर्ब २८ करोड चुक्तापूँजी रहेको यो कम्पनीको सो बेलासम्मको खूद नाफा मात्रै ६७ करोड माथि थियो । यही विषयलाई देखाएर महिनौंअघिदेखिको चलखेललाई रंग दिने काम गरिएको थियो । तेश्रो त्रैमाससम्म चाहिँ यो कम्पनीको नाफा ७ करोड हाराहारी पनि थिएन । इपीएस ७ रुपैयाँ १८ पैसामा सीमित थियो । अघिल्लो वर्षको चौथो त्रैमासमा यो कम्पनीबाट कतै भएको लगानी बिक्री गरेर नाफा ह्वात्तै बढाइएको थियो ।
यो कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५० लाखमा सीमित हुन पुगेको छ । वार्षिकीकृत इपीएस घटेर १ रुपैयाँ ५८ पैसामा खुम्चिएको छ ।
अनुसन्धान अधिकृतहरुले फाइनान्सियल रिपोर्टमा समेत घूसेर बेलैदेखि योजनाबद्ध खेल खेलिएको अनुमान गरेका छन् ।
बम्पर लाभांश घोषणा भएकै दिन सेयरमूल्य ओरालो

यसैबीच, कम्पनीको कात्तिक २५ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको ४० प्रतिशत बोनस सेयर, कर प्रयोजनका लागि आवश्यक नगद र ४० प्रतिशत बोनस जारी गरिसकेपछि कायम चुक्तापूँजीको सतप्रतिशत हकप्रद सेयर जारीको निर्णय गरेको थियो । यो निर्णय हुनुअघिसम्म यिनै सूचनाहरु चुहाएर थपलिया नेतृत्वको समूहले एनआरएनको मूल्य बढाएर प्रतिकित्ता २४०० रुपैयाँ हाराहारी पुर्याइसकेको थियो । तर, एक वर्षअघि ९०० हाराहारीमा रहेको मूल्य बढाएर २४०० पुर्याइको र बम्पर लाभांश तथा साथमा सत्प्रतिशत हकप्रद सेयर घोषणा भएको भोलिपल्टै चाहिँ एनआरएनको मूल्य उल्टै घट्न पुगेको थियो । घटनाक्रमले स्पष्ट रुपमा बम्पर बोनस र हकप्रदको सूचना पहिलादेखि नै चुहाएर सस्तोमा सेयर उठाएर राखिएको र मूल्य घोषणा हुनु अघिल्लो दिन वा सोही दिन सोझा लगानीकर्तालाई बेचिएको देखिएको अनुसन्धान अधिकारीहरुले दाबी गरेका छन् ।
‘यो सबै कुरा पुष्टि हुने प्रशस्त आधारहरु फेला परेका छन् । थपलिया नै यो गेमप्लानको मास्टरमाइन्ड हुने भन्ने क्ल्यूहरु हामीले प्रशस्तै भेटेका छौं ।’ स्रोतले भन्यो–‘अनुसन्धानलाई अझ गम्भीर ढंगले अगाडि बढाइएको छ । यो घटना नेपाली सेयर बजारकै गम्भीर खालको हो भन्ने हाम्रो अहिलेको बुझाई छ । सबै पक्षको मिलेमतोमा गरिएको लगानीकर्ता फसाउने र करोडौं कमाउने गैरकानूनी धन्दाको चरम रुप एनआरएन प्रकरण हो भन्नेमा कुनै शंका छैन ।हेर्दै जानुहोला, यसको हामी पुष्टि गर्छौ ।’
नेप्सेकै शंकास्पद कनेक्सन

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीमा नयाँ प्रमुख कार्यकारी अधिकृतको रुपमा निरञ्जन फूयाँल हालै नियुक्त भएका छन् । उनलाई सीताराम थपलियाले नै पूर्व सीईओलाई भन्दा मासिक १ लाख बढी तलब दिएर लगेका पाइएको छ ।
एनआरएनमा एक वर्षअघिदेखि नै अकुमुलेसनसँगै बिस्तारै मूल्य बढाउने खेल खेलिएको र यो निकै सुनियोजित खेलमा केही दिनअघिसम्म नेप्सेको दोश्रो बरियताका कर्मचारी रहेका निरञ्जन फूयाँलको समेत साथ र सहयोग रहेको हुनसक्ने आशंकातर्फ समेत अनुसन्धान अगाडि बढेको छ । निरञ्जन फूयाँलले नेप्सेमै बसेर थपलियाको समूहलाई साथ दिएका र खेल सफल हुने निश्चित भएपछि नेप्से छाडेर एनआरएनको नेतृत्वमा पुगेका स्रोतहरु दाबी गर्छन् ।
नेप्सेको कामू सीईओको समेत जिम्मेवारी सम्हालिसकेका फूयाँललाई हेमन्त बस्यालले छाडेपछि रिक्त रहेको एनआरएनको सीईओ नियुक्त गरिएको थियो ।
हेमन्त बस्यालले २०८२ भदौ १३ गते एनआरएनको सीईओको पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा भदौ १५ गतेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको थियो । एनआरएनको सीईओबाट राजीनामा गरेका बस्याललाई केही समयपछि नै सरकारले नेप्सेको सञ्चालक समितिको अध्यक्ष बनाएको थियो ।
कात्तिक १९ गतेको एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमीटेडको सञ्चालक समितिको बैठकले नेप्सेको दोश्रो बरियतामा रही केही दिनअघि मात्र राजीनामा दिएका निरञ्जन फूयाँललाई सीईओ बनाउने निर्णय गरेको थियो । उनी सीईओ बनेर आएको एक हप्तामै एनआरएनले ४० प्रतिशत बोनस सेयर र सतप्रतिशत हकप्रदको घोषणा गरेको थियो ।
एनआरएनबाट सीईओ छाडेका हेमन्त बस्याललाई नेप्से प्रमुख बनाइनु, त्यसको केही समयपछि नेप्से(बजारको फ्रन्टलाइन रेगुलेटर)को दोश्रो तहको कर्मचारीलाई राजीनामा गराई प्रमुख कार्यकारी अधिकृत बनाइनु, त्यसको एकहप्तामै बम्पर लाभांश र हकप्रद घोषणा गर्नु, सेयरमूल्य बढाएर चुचुरोमा पुर्याउनु र बम्पर लाभांश घोषणा भएको भोलिपल्टै मूल्य घट्नु लगायतका घटनाक्रमहरुलाई संयोग मात्र नभएको आशंकासहित एक–एक केलाउने काम भइरहेको सेबोन स्रोतले जानकारी दिएको छ ।
‘यो प्रकरणमा नेप्सेमा रहेकै अवस्थामा निरञ्जन फूयाँलको लामो समयदेखि संलग्नता थियो भन्ने आशंका गर्न सकिन्छ ।’ अनुसन्धानमा संलग्न एक अधिकारीले बिजशालासँग भनेका छन्–‘यो सबै संयोग मात्र होइन । निकै ठूलो र्याकेट चलाइएको प्रारम्भिक रुपमा आएका विषयहरुले स्पष्ट संकेत गरेका छन् ।’
नेप्सेजस्तो पूँजीबजारको फ्रन्टलाइन रेगुलेटरको दोश्रो बरियतामा रहेको व्यक्तिले राजीनामा गरेको कही दिनमै सूचीकृत कम्पनीको सीईओ बन्न नरोक्ने त्रुटिपूर्ण कानूनी व्यवस्थाका कारण समेत थपलिया नेतृत्वको समूहजस्ता धेरैलाई खेल्न ठाउँ दिएको स्रोतको दाबी छ ।
'यो प्रकरणमा संलग्न वा कनेक्टेड कसैलाई पनि छाड्दैनौं । सोझा लगानीकर्तामाथि एनआरएनको भारी बोकाउने, चलखेल गरी अकूत कमाउने र यो खेलमा सहयोग गर्ने सबैलाई अनुसन्धानको राडारमा ल्याउनेछौं ।' सेबोनका अनुसन्धान अधिकृतहरुले दाबी गर्दै भनेका छन्-'बजारमा हुने यस्ता गलत क्रियाकलाप, गु्रप ट्रेडिङ, इन्साइडर ट्रेडिङजस्ता गैरकानूनी गतिविधिलाई नियन्त्रण नगरे साधारण लगानीकर्ताको मनोबल बढ्न सक्दैन । सेयरबजार ठूलाले सानालाई फसाउने जूवाघर होइन । यो इथिकिल ढंगले कारोबार गर्नुपर्ने पवित्र प्ल्याटफर्म हो, यसलाई त्यहीअनुसार विकास गर्नुपर्छ, चल्न दिइनुपर्छ ।'
सीताराम थपलिया भन्छन्- 'मेरो नाम लिएर केहीले रमाइलो गरिरहेका छन् !'

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनी लिमीटेडका सञ्चालक समितिका अध्यक्ष सीताराम थपलियाले केही व्यक्तिहरुले आफ्ना विषयमा बेकारका कुरा गरेर रमाइलो गरिरहेका दाबी गर्दै त्यस्तालाई आफ्नो भन्नु केही नरहेको बताए । ‘म आफैं धितोपत्र बोर्ड र नेप्सेमा बसिसकेको मान्छे हुँ । इन्साइडर ट्रेडिङ वा यस्तै विषय त बजारमा कसैलाई सिध्याउन लगाउने गरिएको चलनचल्तीको आरोप नै हो ।’ उनले भने–‘मैल न कसैलाई एनआरएन किन्नुस् भनेको छु । न किनाएको नै छु । कसैले सोध्दा पनि मैले ‘हाम्रो इपीएस क्वार्टर्ली रिपोर्टमै प्रष्ट छ । त्यसका आधारमा लाभांश दिनसक्ने क्षमता पनि झल्किहाल्छ । तर कति दिने भन्ने विषय सञ्चालक समितिको बैठक नबसी भन्न सकिन्न’ भनेर भन्ने गरेको छु ।’
उनले आफूमाथि लागेको ब्रोकर अफिसलाई अखडा बनाएको आरोपको समेत खण्डन गरे । ‘कारोबारमा समस्या आउँदा बेला–बेला म व्यक्तिगत रुपमा विभिन्न ब्रोकरहरुको अफिस जाने गरेको छु । म कतै बाँधिएको मान्छे त होइन, ब्रोकरको अफिसमा जानै नहुने वा नपाउने मान्छे पनि होइन । म मेरो व्यक्तिगत कामका लागि कहिले कुन ब्रोकरकोमा पुग्छु होला, कहिले कुनकोमा । अनि त्यहाँ जानेबित्तिकै अखडा बनायो भन्न मिल्छ ?’ उनले प्रश्न गर्दै भने–‘फेरि बजारमा अखडा बनाउने वा बन्ने भन्ने नै हुँदैन । यहाँ आ–आफ्नो विवेकले सेयर किन्ने हो र आफ्नै विवेक प्रयोग गरेर बेच्ने हो । यस्ता बेकारका र वाहियात कुरा गरेर केही अर्थ नै छैन । म त भन्छु, केही साथीहरुले मलाई विवादमा ल्याएर रमाइलो गरिरहेका छन्, तिनीहरुलाई रमाइलो गर्नै छाडिदिनुस ।’

