काठमाण्डौ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ चुनावमा सहभागी हुन दर्ताका लागि निवेदन दिएका राजनीतिक दलहरूको अन्तिम नामावली आज सार्वजनिक गर्ने भएको छ। आयोगले सोही दिन सम्बन्धित दलहरूलाई निर्वाचन चिह्न पनि प्रदान गर्नेछ।
समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहीबारसम्म दलहरूलाई नाम फिर्ता लिन दिने समय रहेकामा कुनै पनि दलले नाम फिर्ता लिन अनुरोध गरेको छैन। यसपटक समानुपातिक प्रणालीमार्फत चुनावमा सहभागी हुन ९३ राजनीतिक दलले निवेदन दिएका छन्। आयोगले ती निवेदनको छानबिन पूरा गरी दर्ता योग्य दलहरूको अन्तिम सूची सार्वजनिक गर्ने तयारी गरेको छ।
नामावली प्रकाशनपछि दलहरूले समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची पेस गर्न करिब दुई साताको समय पाउनेछन्। आयोगका अनुसार बन्दसूची पुस १३ गतेभित्र बुझाइसक्नुपर्नेछ।
यसअघि आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको चुनाव कार्यक्रम माघ ६ गतेदेखि लागू हुने छ।

