काठमाण्डौ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारहरूको अधिकतम खर्च सीमा निर्धारण गरेको छ ।
आयोगले देशका १६५ वटा निर्वाचन क्षेत्रलाई भौगोलिक सुगमता र दुर्गमताका आधारमा ५ श्रेणीमा वर्गीकरण गरी २५ लाखदेखि ३३ लाखसम्मको सीमा तोकेको हो ।
सुगम मानिएका क्षेत्रहरूमा न्यूनतम २५ लाखको सीमा लागू हुनेछ । यसमा काठमाडौंका क्षेत्र नम्बर १, ३, ६, ७ र ८ पर्छन् । त्यस्तै, २७ लाख सीमाका १७ क्षेत्रमा काठमाडौंका २, ४, ५, ९ र १० नम्बर क्षेत्रका साथै पर्साका १, २, ३; ललितपुरका १, २, ३; भक्तपुर २ र कास्की २ समावेश छन् ।
६५ क्षेत्रमा २९ लाख, ५२ क्षेत्रमा ३१ लाख र सबैभन्दा दुर्गम २६ क्षेत्रमा ३३ लाख खर्च गर्न पाइने व्यवस्था छ । ३३ लाख सीमा लागू हुने क्षेत्रहरूमा ताप्लेजुङ, पाँचथर, संखुवासभा, सोलुखुम्बु, खोटाङ, दोलखा, रामेछाप, काभ्रेका १ र २, मकवानपुरका १ र २, गोरखा १, लमजुङ १, अर्घाखाँची १, रोल्पा १, प्युठान १, दाङ १, बर्दियाका १ र २, सल्यान १ तथा हुम्ला, जाजरकोट, बझाङ, डोटी र बैतडीका क्षेत्रहरू छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको झापा क्षेत्र नं. ५ र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको डडेल्धुरा क्षेत्र नं. १ मा ३१ लाखको सीमा तोकिएको छ ।
आयोगले चाँडै नै यससम्बन्धी औपचारिक सूचना जारी गर्ने जनाएको छ । निर्वाचन आचारसंहिता लागू भइसकेकाले भड्किलो र अत्यधिक खर्चलाई नियन्त्रण गर्ने उद्देश्यले यो सीमा निर्धारण गरिएको हो । निर्वाचन मिति अनिश्चितताका बीच पनि विभिन्न दलहरूले सोमबार समानुपातिक बन्दसूची बुझाइसकेका छन् । यो व्यवस्थाले निर्वाचनलाई पारदर्शी र नियन्त्रित बनाउने अपेक्षा गरिएको छ ।

