शुक्रबार, श्रावण १,२०८३ 03:05:39
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 03:05:39
Bizshala
Global IME Bank Limited

नेपाल लाइफको २६ औं साधारणसभाबाट २१.०५% लाभांश पारित

नेपाल लाइफको २६ औं साधारणसभाबाट २१.०५% लाभांश पारित
New Office

वीरगञ्ज। नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २६औँ वार्षिक साधारण सभा शुक्रबार पर्साको वीरगञ्जस्थित होटल भिष्वामा सम्पन्न भएको छ। साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा सम्पन्न भएको हो।

सभामा अध्यक्ष संघईले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्यप्रगति प्रतिवेदन छलफलपछि पारित गरिएको छ। साथै, लेखापरीक्षकको प्रतिवेदनसहित सोही अवधिको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वित्तीय विवरणहरू अनुमोदन गरिएको छ। सभाले आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्दै पारिश्रमिकसमेत निर्धारण गरेको छ।

साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पुँजी ९ अर्ब २ करोड ८७ लाख ६३ हजार २०९ रुपैयाँको २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। यसअनुसार शेयरधनीहरूलाई करसहित १६.०५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर प्रदान गरिनेछ। कुल लाभांश रकम १ अर्ब ९० करोड ७ लाख ९२ हजार २५५ रुपैयाँ रहेको छ।

सभाबाट संस्थापक समूहअन्तर्गत गोविन्द लाल संघई, कमलेश कुमार अग्रवाल र विवेक कुमार अग्रवाल निर्विरोध निर्वाचित भएका छन्। साधारण सभा पश्चात बसेको सञ्चालक समितिको ४०७औँ बैठकले संघईलाई पुनः सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको छ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष संघईले जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमा अझ मजबुत बनाउँदै लैजान संरचनात्मक सुधार, संस्थागत सुशासन, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली र प्रविधिमैत्री सेवा प्रणालीमा जोड दिइने बताए। उनले सम्पत्ति र दायित्वबीच सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रीकरण, तालिम तथा अनुसन्धान र नयाँ बजारीकरण रणनीतिमार्फत कम्पनीलाई डिजिटल रूपान्तरणको दिशामा अघि बढाइएको जानकारी दिए।

कार्यक्रममा सञ्चालक कमलेश कुमार अग्रवालले प्रतिकूल मौसमका बाबजुद उल्लेख्य सहभागिताका लागि शेयरधनीहरूलाई धन्यवाद व्यक्त गरे। उनले वर्तमान म्याक्रो–आर्थिक परिस्थितिले बीमा व्यवसाय थप चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै सबै सरोकारवाला एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।

प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले आर्थिक वर्ष २०८१/८२ मा सामना गरिएका चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै हासिल गरिएका उपलब्धि र भावी योजनाबारे जानकारी गराए। कठिन आर्थिक अवस्थाबीच पनि लाभांश वितरण गर्न सफल हुनु गौरवको विषय भएको उनको भनाइ थियो।

कम्पनीका अनुसार २०८२ असोज मसान्तसम्म नेपाल लाइफको कुल लगानी २५४ अर्ब रुपैयाँ पुगेको छ। जीवन बीमा कोष २४५ अर्ब रुपैयाँ र शेयरधनी कोष १३ अर्ब रुपैयाँभन्दा बढी रहेको छ। हाल देशभर फैलिएका १९७ वटा कार्यालय सञ्जालमार्फत कम्पनीले जीवन बीमासम्बन्धी सेवा प्रदान गरिरहेको छ। हालसम्म कम्पनीले ३२६ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गर्नुका साथै १०३ अर्ब रुपैयाँ दाबी भुक्तानी गरिसकेको जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.