काठमाण्डौ । आइतबार सम्पन्न १८ पदको निर्वाचनपछि राष्ट्रिय सभाको शक्ति सन्तुलनमा ठूलो फेरबदल आएको छ ।
निर्वाचन परिणामसँगै नेपाली कांग्रेस राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल बनेको छ भने नेपाली कम्युनिस्ट पार्टी दोस्रो र नेकपा एमाले तेस्रो स्थानमा सीमित भएका छन् ।
निर्वाचनमा कांग्रेसका तर्फबाट ९ जना सदस्य निर्वाचित भएसँगै राष्ट्रिय सभामा कांग्रेसको सिट संख्या २५ पुगेको छ । यसअघि १६ सिटमा सीमित कांग्रेस थप ९ सिट जित्दै पहिलो ठूलो दलको हैसियतमा उक्लिएको हो ।
यससँगै यसअघि सबैभन्दा ठूलो दल रहेको तत्कालीन माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी दोस्रो स्थानमा झरेको छ । नेपाली कम्युनिस्ट पार्टी राष्ट्रिय सभामा १८ सिटसहित दोस्रो ठूलो दलको हैसियतमा पुगेको छ ।
यता नेकपा एमाले भने ११ सिटसहित तेस्रो स्थानमै कायम रहेको छ । यसअघि पनि ११ सांसद रहेको एमालेका ८ सांसद बाहिरिए पनि आइतबारको निर्वाचनमार्फत ८ जनै थपिएपछि सिट संख्या यथावत् रहन पुगेको हो ।
निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच चुनावी तालमेल भएको थियो । सोही तालमेलअनुसार कांग्रेसले ९, एमालेले ८ र जसपाले १ सिट प्राप्त गरेका छन् ।
यसका अतिरिक्त राष्ट्रिय सभामा जसपा नेपालका ३ र राष्ट्रिय जनमोर्चाका १ सांसद कायम रहेका छन् । यद्यपि निर्वाचनपछि देखिएको नयाँ शक्ति समीकरण र दलहरूको बदलिएको हैसियतले आगामी फागुन २० पछि मात्र औपचारिक मान्यता पाउनेछ ।
संविधानअनुसार राष्ट्रिय सभाका ५९ सदस्यमध्ये ३ जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने व्यवस्था छ ।

