आईतवार, श्रावण १०,२०८३ 09:25:37
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 09:25:37
Bizshala
Global IME Bank Limited

अन्तर्राष्ट्रिय साझेदारी र पर्यटन विस्तारका लागि फितुर ऐतिहासिक अवसरः पर्यटन सचिव निरौला

अन्तर्राष्ट्रिय साझेदारी र पर्यटन विस्तारका लागि फितुर ऐतिहासिक अवसरः पर्यटन सचिव निरौला
New Office

काठमाण्डौ । युरोपकै प्रतिष्ठित अन्तर्राष्ट्रिय पर्यटन मेला फितुर २०२६ मा नेपालको सक्रिय सहभागिताले अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको छवि थप सुदृढ बनाउनुका साथै पर्यटन क्षेत्रको व्यापार विस्तार र अन्तर्राष्ट्रिय साझेदारीका लागि ऐतिहासिक अवसर सिर्जना गरेको पर्यटन सचिव मुकुन्दप्रसाद निरौलाले बताएका छन्।

स्पेनको म्याड्रिडमा जनवरी २१ देखि २५, २०२६ सम्म सम्पन्न फितुरको ४६औँ संस्करणले नेपाललाई पश्चिम युरोपेली बजारमा बहुआयामिक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको सचिव निरौलाको भनाइ छ।

फितुर २०२६ मा नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएसन अफ ट्राभल एण्ड टुर एजेन्सीज (नाट्टा) को संयुक्त सहकार्यमा ३० वटा नेपाली ट्राभल, टुर तथा पर्यटनसम्बन्धी संस्थाहरू सहभागी भएका थिए। मेलामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव निरौला, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी लगायतका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

नेपाल पभेलियन उद्घाटन समारोहमा सम्बोधन गर्दै सचिव निरौलाले नेपाली पर्यटन व्यवसायीहरूलाई बधाई दिँदै यस्ता अन्तर्राष्ट्रिय मञ्चमा सहभागितालाई अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिए। सो अवसरमा बोर्डका सीईओ जोशीले नेपाल केवल ट्रेकिङ र पर्वतारोहणमा सीमित नभई संस्कृति, जातीय तथा भाषिक विविधता, जैविक विविधता र दिगो पर्यटनका लागि पनि उत्कृष्ट गन्तव्य भएको सन्देश अन्तर्राष्ट्रिय बजारमा प्रवाह भएको बताए।

मेलाको दोस्रो दिन आयोजित ‘नेपाल कनेक्ट’ नेटवर्किङ कार्यक्रममा ५० भन्दा बढी अन्तर्राष्ट्रिय टुर अपरेटरहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सचिव निरौलाले विदेशी व्यवसायीहरूलाई नेपाली पर्यटन उद्यमीहरूसँग सहकार्य गर्न आग्रह गर्दै गुणस्तरीय सेवा र सुरक्षित पर्यटनको सुनिश्चितता व्यक्त गरे। कार्यक्रममा स्पेनस्थित नेपाली दूतावास, यूएन टुरिज्म, अन्तर्राष्ट्रिय सञ्चारमाध्यम, ब्लगर, भ्लगर तथा इन्फ्लुएन्सरहरूको उपस्थिति रहेको थियो।

मेलाको अन्तिम दुई दिन नेपाल पभेलियनमा आयोजना गरिएको नेपाली सांस्कृतिक कार्यक्रम प्रमुख आकर्षणको रूपमा प्रस्तुत भएको थियो। नेपाली नृत्य, गीत, संगीत र सांस्कृतिक प्रस्तुतीले दर्शकहरूको उल्लेख्य ध्यान तानेको थियो। कार्यक्रममा छिमेकी देश मलेसियाका कलाकारहरूको समेत सहभागिता रहेको थियो।

यस वर्षको फितुर २०२६ मा ६१ देशका करिब १० हजार कम्पनीहरू सहभागी भएका थिए, जुन अघिल्लो वर्षको तुलनामा ५ प्रतिशतले वृद्धि भएको आयोजकहरूले जनाएका छन्।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.