काठमाण्डौ । कुरियरमार्फत विदेशमा सामान पठाउने प्रक्रियामा सेवाग्राहीसँग घुस मागिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृतसहित तीन कर्मचारी पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले भन्सार अधिकृत इन्द्र न्यौपाने, भन्सार कार्यालयका कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी र गोश्वारा हुलाक कार्यालयका नायब सुब्बा छविप्रसाद रिजाललाई काठमाण्डौको डिल्लीबजार क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
आयोगका अनुसार गोश्वारा हुलाक कार्यालय अन्तर्गतको पार्सल (निकासी) शाखामा कार्यरत कर्मचारीहरूले सामान विदेश पठाउने क्रममा अनावश्यक झन्झट सिर्जना गर्ने र अतिरिक्त रकम माग गर्ने गरेको भन्दै सेवाग्राहीबाट उजुरी परेको थियो। सोही उजुरीको आधारमा निगरानी तथा जालझेलको अनुसन्धानपछि उनीहरूलाई घुसको रकमसहित रङ्गेहात पक्राउ गरिएको हो।
खानतलासीका क्रममा गणेशप्रसाद पुडासैनीको कार्यकक्ष र साथबाट घुसबापत लिएको १० हजार रुपैयाँसहित कुल १ लाख ४६ हजार ४२० रुपैयाँ बरामद गरिएको आयोगले जनाएको छ। यस्तै, नायब सुब्बा छविप्रसाद रिजालको साथबाट २० हजार रुपैयाँ घुस रकमसहित ३८ हजार ८४८ रुपैयाँ फेला परेको छ। अभियुक्तहरूको साथबाट स्रोत नखुलेका रकम र विभिन्न व्यक्तिहरूका २३ थान मोबाइल सेटसमेत नियन्त्रणमा लिइएको छ।
पक्राउ परेका तीनै जनामाथि भ्रष्टाचार निवारण ऐनअनुसार अनुसन्धान अघि बढाइएको छ।

