काठमाण्डौ । प्रतिनिधिसभा निर्वाचनका लागि सार्वजनिक गरिएको चुनावी वाचापत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धन र सहजीकरणलाई प्राथमिकतामा राख्दै ‘वान स्टप सेवा केन्द्र’ कार्यान्वयन गर्ने घोषणा गरेको छ।
पार्टीका अनुसार लगानीकर्ताले एकै स्थानमा फाइल पेश गरेपछि अन्य सरकारी निकाय धाउन नपर्ने व्यवस्था मिलाइनेछ। प्रस्तावित वान स्टप सेवा केन्द्रले परियोजना स्थल उपलब्ध गराउने, वन तथा वातावरणसम्बन्धी स्वीकृति प्रक्रिया सहज, पारदर्शी र समयबद्ध रूपमा पूरा गराउने तथा स्थानीय तह र सम्बन्धित सरकारी निकायसँग आवश्यक समन्वय गर्नेछ।
रास्वपाले लगानी सहजीकरणका लागि आवश्यक कानून, नियमावली तथा कार्यविधिहरू निर्माण गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। प्रशासनिक झन्झट घटाउँदै लगानीमैत्री वातावरण निर्माण गर्ने पार्टीको लक्ष्य रहेको उल्लेख गरिएको छ।
त्यसैगरी, डिजिटल माध्यमबाट सजिलो, द्रुत र निःशुल्क रूपमा व्यवसाय दर्ता गर्ने व्यवस्था मिलाइने पनि वाचापत्रमा उल्लेख छ।

