काठमाण्डौ । अघिल्लो आवमा घाटामा रहेको पञ्चकन्या माई हाईड्रो लिमिटेड चालु आवको तेस्रो त्रैमाससम्म नाफा कमाउन सफल भएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ६ करोड १ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ ।
अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ५ करोड १६ लाख रुपैयाँ घाटामा थियो । कम्पनीको विद्युत बिक्री आम्दानी बढेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ७२ लाख ९६ हजार रुपैयाँबराबरको विद्युत बिक्री आम्दानी गरेको कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म भने २८ करोड ९२ लाख रुपैयाँबराबरको आम्दानी गरेको छ ।
यो अवधिमा कम्पनीको अन्य आम्दानी भने घटेको छ । अघिल्लो आवमा ४ करोड ९४ लाख रुपैयाँ रहेको कम्पनीको अन्य आम्दानी ४ लाख १६ हजारमा सीमित बन्न पुगेको छ ।
कम्पनीको वित्त खर्च ४ करोड ३७ लाख रुपैयाँबाट बढेर १० करोड ८७ लाख पुगेको छ । कम्पनीको रिजर्भ ३ करोड ७९ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पानीको कुल चालु सम्पत्ति ६ करोड र कुल चालु दायित्व २२ करोड २५ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ६.२५ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ ९६.०६ रुपैयाँ,र तरलता अनुपात ०.२७ प्रतिशत कायम भएको छ ।

