काठमाण्डौ । चालु आर्थिक वर्षको ९ महिनामा नेपालमा विप्रेषण आप्रवाह उल्लेखनीय रूपमा वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई १६ खर्ब ५९ अर्ब ४१ करोड पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आप्रवाह १०.२ प्रतिशतले बढेको थियो।
२०८२ साल चैत महिनामा मात्र रु. २ खर्ब ९ अर्ब ७५ करोड विप्रेषण भित्रिएको छ। गत वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब ३९ अर्ब ५४ करोड रहेको थियो।
अमेरिकी डलरमा समेत विप्रेषण आप्रवाहमा उल्लेखनीय सुधार देखिएको छ। समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण ३१.९ प्रतिशतले वृद्धि भई ११ अर्ब ५५ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्ष यस्तो वृद्धि दर ७.५ प्रतिशत रहेको थियो।
यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) पनि बढेर १८ खर्ब २० अर्ब ४२ करोड पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो आय १३ खर्ब ३ अर्ब १२ करोड रहेको थियो।
वैदेशिक रोजगारीतर्फ भने नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या घटेको देखिएको छ। समीक्षा अवधिमा संस्थागत तथा व्यक्तिगत नयाँ अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख ९४ हजार १८६ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३ लाख ५८ हजार २२२ थियो।
यस्तै, पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या भने बढेर २ लाख ९३ हजार २५९ पुगेको छ। अघिल्लो वर्ष यस्तो संख्या २ लाख ४९ हजार ६५२ रहेको थियो।

