काठमाण्डौ । नेपाल एयरलाइन्सले जहाज खरिदका लागि लिएको ऋणको दायित्व बढेर ५५ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ। महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनअनुसार समयमै साँवा तथा ब्याज भुक्तानी नगर्दा निगममाथिको वित्तीय भार उल्लेख्य रूपमा बढेको हो।
प्रतिवेदनमा उल्लेख भएअनुसार नेपाल सरकारको जमानीमा नेपाल एयरलाइन्सले २०७० र २०७४ सालमा दुई चरणमा गरी कुल ३६ अर्ब रुपैयाँ ऋण लिएको थियो। निगमले कर्मचारी सञ्चय कोष बाट २२ अर्ब रुपैयाँ तथा नागरिक लगानी कोष बाट १२ अर्ब रुपैयाँ ऋण लिएको थियो।
तर, निर्धारित समयमै साँवा–ब्याज भुक्तानी हुन नसक्दा दायित्व तीव्र रूपमा बढेको प्रतिवेदनमा उल्लेख छ। हाल कर्मचारी सञ्चय कोषप्रति निगमको दायित्व ३१ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ भने नागरिक लगानी कोषप्रति २१ अर्ब १२ करोड रुपैयाँ दायित्व रहेको जनाइएको छ।
यससँगै नेपाल एयरलाइन्सको कुल ऋण दायित्व ५५ अर्ब ४ करोड रुपैयाँ पुगेको देखिएको छ।

