मंगलवार, श्रावण १९,२०८३ 11:51:45
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 11:51:45
Bizshala
Global IME Bank Limited

आक्रमणकारीलाई कानूनी दायरामा ल्याउने सहमतिपछि खुल्यो दुई दिनदेखि अवरुद्द बाजुरा र हुम्लालाई जोड्ने सडक

आक्रमणकारीलाई कानूनी दायरामा ल्याउने सहमतिपछि खुल्यो दुई दिनदेखि अवरुद्द बाजुरा र हुम्लालाई जोड्ने सडक
New Office

काठमाण्डौं । बाजुरा र हुम्लालाई जोड्ने महत्वपूर्ण सडक सञ्जाल कर्णाली करिडोरमा देखिएको तनावपछि दुई दिनदेखि अवरुद्ध भएको यातायात सेवा पुनः सञ्चालनमा आएको छ ।  

सर्वपक्षीय छलफलमार्फत ६ बुँदे सहमति भएपछि शुक्रबार दिउँसोदेखि करिडोर खुलाइएको हो ।

हिमाली गाउँपालिका–६ धुलाचौर क्षेत्रमा उत्पन्न विवाद, कुटपिट र त्यसपछि चर्किएको आन्दोलनका कारण बिहीबार बिहानदेखि कर्णाली करिडोर पूर्ण रूपमा बन्द गरिएको थियो ।  

सडक बन्द भएपछि बाजुरा र हुम्लाबीचको आवतजावत ठप्प बनेको थियो भने दैनिक उपभोग्य वस्तुको ढुवानी, यात्रु सेवा र स्थानीय जनजीवनसमेत प्रभावित बनेको थियो ।

स्थानीय बासिन्दाले घटनामा संलग्नमाथि कारबाही, घाइतेको उपचार, लुटिएको सामानको क्षतिपूर्ति तथा सुरक्षाको ग्यारेन्टीको माग गर्दै आन्दोलन शुरु गरेका थिए ।  

आन्दोलनका कारण करिडोर क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जना भएको थियो ।

बढ्दो तनावलाई नियन्त्रणमा लिन स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, जनप्रतिनिधि तथा आन्दोलनरत पक्षबीच लामो समय छलफल भएको थियो ।  

अन्ततः शुक्रबार ६ बुँदे सहमतिमा हस्ताक्षर भएपछि आन्दोलन स्थगित गर्दै करिडोर सञ्चालनमा ल्याइएको हो ।

सहमतिको पहिलो बुँदाअनुसार हिमाली गाउँपालिका–३ लाम्पाटामा भएको घटनाको स्थलगत अनुगमन गरिनेछ ।

साथै, घटनासम्बन्धी सर्जिमिन मुचुल्का तयार पारेर थप अनुसन्धान प्रक्रिया अघि बढाइनेछ ।

यस्तै, घटनामा संलग्न रहेको आरोप लागेका खर्पुनाथ गाउँपालिका–२ र ३ का व्यक्तिहरूसहित जो–कोही दोषी देखिए कानूनी दायरामा ल्याइने सहमति भएको छ ।  

स्थानीयका अनुसार घटनाका क्रममा केही स्थानीय बासिन्दा तथा घुम्न गएका पर्यटकमाथि आक्रमण हुनुका साथै सामानसमेत लुटिएको थियो ।  

सहमतिपत्रमा पीडितको लुटिएको सामानको क्षतिपूर्ति उपलब्ध गराउने उल्लेख गरिएको छ ।

कुटपिटबाट घाइते भएका व्यक्तिहरूको उपचार खर्च व्यवस्थापन गर्ने, विस्थापित परिवारलाई पुनःस्थापित गर्ने तथा उनीहरूको सुरक्षाको प्रत्याभूति दिलाउने सहमति पनि भएको छ ।  

स्थानीयले सुरक्षाको ग्यारेन्टी नभएसम्म आफूहरू असुरक्षित महसुस गरिरहेको बताएका थिए ।

त्यस्तै, हिमाली–३ च्याचौरमा निर्माणाधीन प्रहरी चौकीमा तोडफोड तथा क्षति पुर्‍याइएको सामग्रीको क्षतिपूर्ति असुल गर्ने र प्रहरी चौकी भवन निर्माणको काम तत्काल पुनः शुरु गर्ने सहमति पनि भएको छ ।  

स्थानीय प्रशासनले यस घटनाले सुरक्षा संरचनामाथि समेत असर पारेको स्वीकार गरेको छ ।

सहमति कार्यान्वयनका विषयमा आन्दोलनरत पक्षले सरकार र प्रशासनलाई स्पष्ट चेतावनी दिएका छन् ।  

उनीहरूले २४ घण्टाभित्र सहमति कार्यान्वयन प्रक्रिया शुरु हुनुपर्ने माग राख्दै त्यसो नभए पुनः अनिश्चितकालीन आन्दोलनमा उत्रिने बताएका छन् ।

सहमतिपत्रमा आन्दोलनरत पक्षका तर्फबाट हिमाली युवा क्लबका अध्यक्ष विनोद बुढा, नेपाल प्रहरीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशी, सशस्त्र प्रहरी निरीक्षक प्रदीप रावत तथा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

राजनीतिक दलका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सचिव अशोक पाण्डे, नेपाली कांग्रेसका सभापति अम्मलाल कार्की तथा नेकपा (एमाले) का पूर्व जिल्ला कमिटी सदस्य बिर्ख भण्डारीले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

यस्तै, गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्ल, वडा नं. ६ का अध्यक्ष प्रेमलाल भण्डारी तथा वडा नं.४ का अध्यक्ष भीमानन्द पाण्डेसहित स्थानीय जनप्रतिनिधिहरूले पनि सहमतिमा प्रतिबद्धता जनाएका छन् ।  

स्थानीयले अब सहमति व्यवहारमै कार्यान्वयन भए मात्रै क्षेत्रको अवस्था सामान्य बन्ने बताएका छन् ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.