मंगलवार, श्रावण १२,२०८३ 03:27:07
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 03:27:07
Bizshala
Global IME Bank Limited

तीन दिनसम्म अत्यधिक गर्मीको चेतावनी, लुम्बिनी–सुदूरपश्चिमका विभिन्न क्षेत्रमा तातो लहरको जोखिम

तीन दिनसम्म अत्यधिक गर्मीको चेतावनी, लुम्बिनी–सुदूरपश्चिमका विभिन्न क्षेत्रमा तातो लहरको जोखिम
New Office

काठमाण्डौं । जल तथा मौसम विज्ञान विभागले देशका केही क्षेत्रमा बढ्दो तापक्रम र तातो लहरको जोखिमलाई मध्यनजर गर्दै विशेष मौसम बुलेटिन जारी गरेको छ ।

विभागले आगामी तीन दिनसम्म लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका विभिन्न स्थानमा अत्यधिक गर्मी कायम रहने सम्भावना औँल्याउँदै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

शुक्रबार साँझ सार्वजनिक गरिएको विशेष बुलेटिनअनुसार प्रभावित क्षेत्रमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा माथि पुग्ने सम्भावना रहेको छ ।  

केही स्थानमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन हुन सक्ने अनुमान गरिएकाले जनस्वास्थ्यमा प्रत्यक्ष असर पर्न सक्ने विभागले जनाएको छ ।

मौसमविद् सञ्जिव अधिकारीका अनुसार विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा आगामी तीन दिनसम्म मध्यम स्तरको तातो लहर (लु) चल्ने सम्भावना छ ।  

पहाडी क्षेत्रहरूमा भने ‘तातो दिन’को अवस्था रहने अनुमान गरिएको छ ।  

यस्तो मौसमीय अवस्थाले दैनिक जनजीवन, स्वास्थ्य अवस्था तथा कृषि क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरिएको छ ।

विभागका अनुसार सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्र र लुम्बिनी प्रदेशका केही तराई जिल्लामा जेठ ६ गतेयता नै ४० डिग्री सेल्सियस वा सोभन्दा बढी तापक्रम रेकर्ड भइसकेको छ ।  

त्यस्तै, दुवै प्रदेशका विभिन्न स्थानमा ३८ डिग्री सेल्सियसभन्दा माथिको तापक्रम निरन्तर मापन भइरहेको उल्लेख गरिएको छ ।

विशेष निगरानीमा राखिएका जिल्लामा कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ रहेका छन् ।  

 

यस्तै बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रुपन्देही र कपिलवस्तु जिल्लामा पनि मौसमको अवस्थाबारे निरन्तर अद्यावधिक जानकारी लिन विभागले सुझाव दिएको छ ।

विभागले तातो हावा र तातो लहरका कारण देखिन सक्ने स्वास्थ्य समस्या प्रति पनि चेतावनी दिएको छ ।

अत्यधिक गर्मीका कारण शरीरमा कमजोरी महसुस हुने, अत्यधिक तिर्खा लाग्ने, टाउको दुख्ने, चक्कर आउने, मांसपेशी दुख्ने, खुट्टा बाउँडिने, बान्ता हुने वा बेहोससमेत हुन सक्ने जोखिम रहेको उल्लेख गरिएको छ ।

यसबाट बच्न विभागले दिउँसोको अत्यधिक गर्मीका समयमा सम्भव भएसम्म घरभित्र वा चिसो स्थानमा बस्न, अनावश्यक रूपमा बाहिर ननिस्किन तथा चर्को घामबाट जोगिन सुझाव दिएको छ ।  

बाहिर निस्कनै परे हल्का तथा सुती कपडा लगाउने, टाउको छोप्ने, टोपी वा छाता प्रयोग गर्ने तथा प्रत्यक्ष घामबाट जोगिने उपाय अपनाउन भनिएको छ ।

त्यसैगरी, शरीरमा पानीको कमी हुन नदिन प्रशस्त मात्रामा पानी, झोल पदार्थ, जुस, सर्वत लगायतका तरल पदार्थ सेवन गर्न विभागले आग्रह गरेको छ ।  

स्वास्थ्यमा असहजता महसुस भए तुरुन्त स्वास्थ्यकर्मीको सम्पर्कमा जान पनि सुझाव दिइएको छ ।

विभागले मौसम पूर्वानुमान महाशाखाबाट दैनिक रूपमा जारी हुने मौसम बुलेटिन र अद्यावधिक मौसमी जानकारी नियमित रूपमा हेर्न तथा सम्भावित जोखिमबाट बच्न समयमै तयारी गर्न सर्वसाधारणसँग अनुरोध गरेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.