काठमाण्डौं । प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार अपरान्ह बस्ने गरी मन्त्रिपरिषद्को बैठक डाकेका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो ३ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मा बस्नेछ ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेका बेला बस्न लागेको मन्त्रिपरिषद् बैठकलाई विशेष चासोका साथ हेरिएको छ ।
स्रोतका अनुसार बैठकमा बजेटका प्राथमिकता, मन्त्रालयगत कार्यक्रम, विकास आयोजनाको प्रगति तथा समसामयिक राजनीतिक विषयमा केन्द्रित छलफल हुन सक्नेछ ।
पछिल्लो समय सरकार कमजोर पूँजीगत खर्च, सुस्त विकास आयोजना, घट्दो राजस्व संकलन तथा प्रशासनिक कार्यक्षमतामाथिको आलोचनाको सामना गरिरहेको छ ।
यस्तो अवस्थामा मन्त्रिपरिषद् बैठकबाट आर्थिक तथा प्रशासनिक सुधारसँग सम्बन्धित केही महत्वपूर्ण निर्णय आउन सक्ने अनुमान गरिएको छ ।
बैठकमा विभिन्न मन्त्रालयबाट पेश गरिएका प्रस्ताव, नीति निर्णय, प्रशासनिक नियुक्ति तथा विकास आयोजनासम्बन्धी फाइलहरू पनि छलफलमा जाने सम्भावना रहेको बताइएको छ ।
आगामी बजेटमार्फत सरकारले कुन क्षेत्रलाई प्राथमिकता दिने भन्ने विषयमा समेत बैठकमा अन्तिम गृहकार्य हुन सक्ने स्रोतको भनाइ छ ।
प्रधानमन्त्री सचिवालयले समसामयिक राष्ट्रिय मुद्दा, मन्त्रालयगत नियमित एजेण्डा तथा सरकारका आगामी रणनीतिमाथि पनि छलफल हुने जनाएको छ ।
राजनीतिक रूपमा संवेदनशील र आर्थिक रूपमा चुनौतीपूर्ण अवस्थामा बस्न लागेको यो बैठकलाई सरकारको आगामी दिशा तय गर्ने महत्वपूर्ण बैठकका रूपमा हेरिएको छ ।

