शनिबार, श्रावण २३,२०८३ 04:01:10
Bizshala
  • शनिबार, श्रावण २३,२०८३ 04:01:10
Bizshala
Global IME Bank Limited

सेबोनमा ‘काका-भतिजा’ कनेक्सन ? आजै हुनसक्छ अध्यक्ष नियुक्ति

सेबोनमा ‘काका-भतिजा’ कनेक्सन ? आजै हुनसक्छ अध्यक्ष नियुक्ति
New Office

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष नियुक्तिको विषय सोमबार निर्णायक मोडमा पुगेको छ । प्रधानमन्त्री बालेन्द्र शाह ले दिउँसो ३ः३० बजे मन्त्रिपरिषद् बैठक बोलाएसँगै नयाँ अध्यक्ष नियुक्ति हुने सम्भावना उच्च बनेको हो ।

तर, यो नियुक्ति अब केवल ‘योग्यता’ वा ‘दृष्टिकोण’ को प्रतिस्पर्धामा सीमित देखिएको छैन । शक्ति केन्द्र, नातागत पहुँच, समूहगत स्वार्थ र नियामक कब्जाको आरोपबीच सेबोन नेतृत्वको दौड अहिले पूँजीबजारकै सबैभन्दा विवादास्पद शक्ति संघर्षमा रुपान्तरित भएको छ ।

स्रोतका अनुसार अध्यक्ष पदका लागि अन्तिम सिफारिसमा परेका तीन पात्र(विनयदेव आचार्य, डा. गोपाल भट्ट र मुकुन्दकुमार क्षेत्री) आफ्ना-आफ्ना शक्ति केन्द्रको भरोसामा अन्तिम ‘लविङ’ मा सक्रिय छन् ।

‘काका’ संयोजक, भतिजा उम्मेदवार !

सबैभन्दा बढी चर्चा अहिले सेबोनकै कार्यकारी निर्देशक विनयदेव आचार्यको नामलाई लिएर भइरहेको छ । कारण, अध्यक्ष छनोट तथा सिफारिस समितिका संयोजक प्रा. डा. सञ्जय आचार्यलाई विनयदेवले निजी तथा सार्वजनिक वृत्तमा ‘काका’ भनेर सम्बोधन गर्ने गरेको चर्चा अहिले सिंहदरबारदेखि पूँजीबजार वृत्तसम्म फैलिएको छ ।

यही सम्बन्धलाई लिएर अहिले बजारमा एउटा प्रश्न तीव्र बनेको छ-“संयोजक काका भएका बेला भतिजा अध्यक्ष बन्ने बाटो सजिलो बनाइयो त ?”

यद्यपि, समितिको प्रक्रिया औपचारिक रूपमा कानूनी दायराभित्रै रहेको सरकारी अधिकारीहरूको दाबी छ । तर, नियामक नियुक्तिमा देखिएको नातागत समीकरणले भने निष्पक्षताको प्रश्नलाई थप चर्काएको छ ।

विनयदेव विगतदेखि नै सेबोनभित्र शक्तिशाली प्रशासनिक अधिकारीका रूपमा चिनिन्छन् । तर, उनीमाथि मर्चेन्ट बैंकहरुसँगको निकटता, भित्री कारोबारसँग सम्बन्धित निर्णयहरूमा प्रभावशाली भूमिका र केही संवेदनशील फाइलमा समूहगत स्वार्थअनुसार चल्ने गरेको आरोप पटक–पटक उठ्दै आएको छ ।

सेबोनभित्रकै एक कर्मचारीले बिजशालासँग भने, “उहाँ अध्यक्ष बने संस्थाभित्रै ठूलो ध्रुवीकरण हुन सक्छ । कर्मचारी तहमा उहाँप्रति सहज विश्वास छैन ।”

कर्मचारी वृत्तमा समेत विनयदेवको सम्भावित नियुक्तिले ‘नियामक स्वतन्त्रता’ भन्दा ‘आन्तरिक शक्ति कब्जा’ बलियो हुने चिन्ता बढेको बताइन्छ ।

क्षेत्रीमाथि ‘ग्रुप सपोर्ट’ को चर्चा

अर्का प्रत्याशी मुकुन्दकुमार क्षेत्री पनि विवादरहित छैनन् । नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक रहेका क्षेत्रीलाई केही शक्तिशाली व्यावसायिक तथा बैंकिङ समूहको समर्थन रहेको चर्चा पूँजीबजार वृत्तमा व्यापक छ ।

विशेषगरी सानिमा बैंक समूह निकट शक्ति केन्द्रले उनलाई अध्यक्ष बनाउन जोडबल गरिरहेको चर्चा बजारमा चलिरहेको छ । यद्यपि, यसको औपचारिक पुष्टि भने कतैबाट भएको छैन ।

क्षेत्रीलाई नियामकभन्दा पनि “समूहमैत्री पात्र” का रूपमा अघि सारिएको आरोप प्रतिस्पर्धी वृत्तबाट उठिरहेको छ ।

कम विवादमा भट्ट, तर ‘छायाँ’ त्यहाँ पनि

तीनमध्ये तुलनात्मक रूपमा कम विवादास्पद पात्रका रूपमा भने डा. गोपाल भट्टलाई हेरिएको छ । नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक रहेका भट्टमाथि हालसम्म सार्वजनिक पदको दुरुपयोग, संस्थागत सेटिङ वा प्रत्यक्ष आर्थिक अनियमितताको गम्भीर आरोप सार्वजनिक रूपमा लागेको छैन।

तर, उनी पूर्ण रूपमा विवादमुक्त भने छैनन् । पछिल्लो समय राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले आफ्नै नाताभित्र पर्ने व्यक्तिलाई सेबोन अध्यक्ष बनाउन खोजेको चर्चा सार्वजनिक बहसको विषय बनेको थियो ।

यद्यपि, डा. गोपाल भट्टमाथि अन्य प्रत्याशीमाथि जस्तै संस्थागत दुरुपयोग वा नियामकीय विवादको भारी आरोप भने अहिलेसम्म देखिएको छैन । यही कारण पनि उनी “कम खराब विकल्प” का रूपमा केही नीति निर्माताले हेरेको चर्चा छ ।

किन चासोको केन्द्रमा छ सेबोन ?

सेबोन अध्यक्ष पद अहिले केवल प्रशासनिक नियुक्ति होइन, नेपालको पूँजीबजारको भावी दिशा तय गर्ने शक्तिशाली पदका रूपमा हेरिन्छ ।

गत वैशाख ४ गते पूर्वअध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएपछि बोर्ड नेतृत्वविहीन अवस्थामा छ । त्यहीबीच बजार निरन्तर दबाबमा छ, लगानीकर्ताको मनोबल कमजोर छ, ब्रोकर–मर्चेन्ट बैंक–सूचीकृत कम्पनीबीचको स्वार्थ संघर्षबारे प्रश्न बढिरहेका छन् ।

यस्तो बेला आउने अध्यक्षले नियामक सुधार, आन्तरिक सफाइ, भित्री कारोबार नियन्त्रण र बजारमा विश्वास पुनर्स्थापनाको चुनौती एकैपटक बोक्नुपर्नेछ ।

तर, नियुक्ति प्रक्रियामै शक्ति केन्द्र, नातावाद र समूहगत प्रभावको आरोप चर्किँदा प्रश्न झन् गम्भीर बनेको छ: “सेबोनले स्वतन्त्र नियामक पाउने हो, कि कुनै शक्ति समूहको नयाँ नियन्त्रणकर्ता ?”

यसैले सोमबारको मन्त्रिपरिषद् बैठकलाई सामान्य प्रशासनिक निर्णयभन्दा पनि नेपालको पूँजीबजारमाथिको आगामी ‘शक्ति नियन्त्रण’ को निर्णायक बैठकका रूपमा हेरिएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.