काठमाडौं । मंगलबार ईयूको टोलीले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गर्ने कार्यक्रम तय भएको छ ।
युरोपेली संघ (ईयू) को उच्चस्तरीय प्रतिनिधिमण्डलको नेपाल भ्रमणलाई नयाँ सरकारसँग सम्बन्ध विस्तार गर्ने कूटनीतिक प्रयासका रूपमा हेरिएको छ ।
नेपालका लागि ईयूकी राजदूत भेरोनिक लोरेन्जोको नेतृत्वमा आएको टोलीमा २२ सदस्य राष्ट्रका राजदूत तथा उप–मिसन प्रमुख सहभागी छन् ।
प्रतिनिधिमण्डलले नेपालसँगको राजनीतिक, आर्थिक र विकास साझेदारीलाई अझ सक्रिय बनाउने उद्देश्यसहित विभिन्न उच्चस्तरीय भेटवार्ता गर्न लागेको हो ।
भ्रमणका क्रममा टोलीले परराष्ट्रमन्त्री शिशिर खनाल, पर्यटनमन्त्री खड्कराज पौडेल, शिक्षामन्त्री सस्मित पोखरेल, निजी क्षेत्र, नागरिक समाज तथा युवा प्रतिनिधिहरूसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ ।
छलफलमा लगानी, व्यापार, हरित ऊर्जा, जलवायु परिवर्तन, शिक्षा र सुशासनका विषय प्राथमिकतामा रहने बताइएको छ ।
ईयूले पछिल्लो समय नेपालमा दिगो विकास, लोकतान्त्रिक संस्थाको सुदृढीकरण र हरित अर्थतन्त्रमा सहकार्य बढाउन चासो देखाउँदै आएको छ ।
विशेषगरी ऊर्जा, पूर्वाधार, पर्यटन र शिक्षा क्षेत्रमा युरोपेली लगानी तथा सहकार्य विस्तार गर्ने सम्भावनाबारे पनि भ्रमणका क्रममा कुराकानी हुन सक्ने अनुमान गरिएको छ ।
फ्रान्स, जर्मनी, इटाली, स्पेन, स्विडेन, नेदरल्यान्ड्सलगायत विभिन्न युरोपेली मुलुकका कूटनीतिक प्रतिनिधि सहभागी रहेको यो भ्रमणलाई नेपालप्रति ईयूको बढ्दो रणनीतिक चासोको संकेतका रूपमा पनि हेरिएको छ ।
नयाँ सरकार गठनपछि भएको यस्तो उच्चस्तरीय कूटनीतिक सक्रियताले नेपालको राजनीतिक स्थायित्व, आर्थिक दिशा र अन्तर्राष्ट्रिय सम्बन्धमाथि बाह्य चासो बढेको सन्देश दिएको विश्लेषण गरिएको छ ।

