काठमाण्डौं । प्रधानमन्त्रीको संसद उपस्थितिलाई लिएर लामो समयदेखि देखिएको सत्ता–विपक्ष टकराव अन्ततः सहमतितर्फ उन्मुख भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी सहित प्रमुख दलका प्रमुख सचेतकहरूबीच सिंहदरबारमा भएको छलफलपछि प्रतिनिधिसभाको अवरोध खुलाउने समझदारी बनेको हो ।
विपक्षी दलहरूले प्रतिनिधिसभा नियमावलीअनुसार प्रधानमन्त्रीसँग नियमित प्रश्नोत्तर कार्यक्रम हुनुपर्ने माग गर्दै लगातार संसद अवरुद्ध गर्दै आएका थिए ।
उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाह संसदमा अनुपस्थित रहँदै आएको भन्दै सरकार जवाफदेहिताबाट भाग्न खोजेको आरोप लगाएका थिए ।
छलफलपछि प्रधानमन्त्री शाहले जेठ १९ गते संसदलाई सम्बोधन गर्ने तयारी भएको स्रोतले जनाएको छ ।
सत्तापक्षले आजको बैठकमै प्रधानमन्त्री संसदमा आउने प्रतिबद्धता सार्वजनिक गर्ने सहमति बनेको बताइएको छ ।
खुश्बु ओली ले दलहरूबीच प्रधानमन्त्रीबाट संसद सम्बोधन गराउने विषयमा सकारात्मक समझदारी बनेको जानकारी दिएकी छन् ।
यस्तै रास्वपाका प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीको सम्बोधन मिति संसदमा औपचारिक रूपमा घोषणा गरिने बताएका छन् ।
छलफलमा कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाका प्रमुख सचेतक सहभागी थिए ।
लामो समयदेखि संसद अवरुद्ध भइरहेका बेला दलहरूबीच बनेको यो सहमतिलाई राजनीतिक तनाव कम गर्ने र संसदलाई पुनः नियमित कार्यसूचीतर्फ फर्काउने प्रयासका रूपमा हेरिएको छ ।

