नेपालगञ्ज । कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा भएको झण्डै दुई वर्ष बितिसक्दा पनि आफ्नो बचत फिर्ता नपाएपछि हजारौं बचतकर्ताको आक्रोश सडकमा पोखिएको छ। सोमबार बाँकेको नेपालगञ्जमा भएको हालसम्मकै ठूलो प्रदर्शनमा पाँच सयभन्दा बढी पीडित सहभागी हुँदै बैंकको केन्द्रीय कार्यालयदेखि नेपाल राष्ट्र बैंकको प्रादेशिक कार्यालयसम्म पैदल मार्च गरेका छन्।
४० डिग्रीभन्दा माथिको प्रचण्ड गर्मीको बेवास्ता गर्दै सडकमा उत्रिएका बचतकर्ताले ‘हाम्रो बचत फिर्ता गर’, ‘जनताको पैसा फिर्ता गर’, ‘बचतको सुरक्षा ग्यारेन्टी गर’, ‘वित्तीय सुशासन कायम गर’ र ‘भ्रष्ट कर्मचारीलाई कारबाही गर’ जस्ता नाराले नेपालगञ्ज गुञ्जाएका थिए।
कर्णाली डेभलपमेन्ट बैंकलाई २०८१ सालमा समस्याग्रस्त घोषणा गरेपछि नेपाल राष्ट्र बैंकले तीन सदस्यीय टोलीमार्फत व्यवस्थापन नियन्त्रणमा लिएर सञ्चालन गरिरहेको छ। तर डेढ वर्षभन्दा बढी समय बितिसक्दा पनि अधिकांश बचतकर्ताले आफ्नो रकम फिर्ता पाउन नसकेपछि असन्तुष्टि चरम अवस्थामा पुगेको देखिएको छ।
‘हुन्छ-हुन्छ भनेको डेढ वर्ष भयो, पैसा अझै आएन’
प्रदर्शनमा सहभागी एक बचतकर्ताले आफूहरूको धैर्यको बाँध फुटिसकेको बताए।
“हुन्छ–हुन्छ भनेको डेढ वर्षभन्दा बढी भयो। हाम्रो बचत फिर्ता भएन। आफ्नै पैसा फिर्ता लिन यति धेरै समय किन लाग्ने ? हामीले न्याय कहिले पाउने ?” उनले प्रश्न गरे।
प्रदर्शनका क्रममा राष्ट्र बैंकका प्रादेशिक प्रतिनिधिहरूसँग पीडितहरूको चर्को सवाल–जवाफ भएको थियो। बचतकर्ताहरूले ‘यदि राष्ट्र बैंकले नै जिम्मेवारी लिन सक्दैन भने बैंकमा पैसा किन राख्ने ?’ भन्दै वित्तीय प्रणालीप्रतिको विश्वास नै संकटमा परेको गुनासो गरेका थिए।
राष्ट्र बैंकका अधिकारी नाजवाफ
प्रदर्शनकारीहरूले ‘बैंकमा राखिएको बचतको सुरक्षा कसले गर्ने ?’ भन्ने प्रश्न दोहोर्याइरहँदा राष्ट्र बैंकका प्रादेशिक अधिकारीहरू स्पष्ट जवाफ दिन सकेनन्।
राष्ट्र बैंकका एक प्रतिनिधिले आफूहरूको अधिकार सीमित रहेको स्वीकार्दै भने, “गुनासो राख्ने ठाउँ राष्ट्र बैंक पनि हो, तर हामीलाई बैंकका सञ्चालक वा शाखा प्रबन्धकलाई कारबाही गर्ने अधिकार छैन। लिखित गुनासो केन्द्रमा पठाउने काम मात्रै हाम्रो हो।”
उनले कर्णाली बैंकको व्यवस्थापन नियन्त्रण र पुनर्संरचनाको काम केन्द्रबाट खटिएका टोलीले गरिरहेको भन्दै प्रदेश कार्यालयको भूमिका ‘पुल’ जस्तै मात्र भएको बताए।
“हामी प्रदेश कार्यालयका कर्मचारी हौं। व्यवस्थापन टेकओभर गर्ने वा निर्णय गर्ने अधिकार हाम्रो होइन। केन्द्रबाट खटिएका टोलीले असुलीको काम गरिरहेको छ। केही बचतकर्तालाई रकम पनि फिर्ता गरिएको छ,” उनले भने।
‘हामीलाई पनि यहाँ बस्न रहर छैन’
प्रदर्शन चर्किएपछि व्यवस्थापन सम्हाल्न केन्द्रबाट खटिएका राष्ट्र बैंकका प्रतिनिधिहरूले समेत आफूहरू समस्या समाधान गर्न प्रयासरत रहेको बताएका थिए।
“हामीलाई पनि हतार छ। कहिले यो काम सकेर फर्किन पाइन्छ भन्ने छ। यहाँ बसिरहन हामीलाई रहर छैन,” उनीहरूले बचतकर्तासामु भने।
उनीहरूले बैंक पुनः सञ्चालन र बचतकर्ताको रकम फिर्ता गर्ने प्रयास जारी रहेको दाबी गरे पनि त्यसले प्रदर्शनकारीलाई सन्तुष्ट पार्न सकेन।
सेयरमा रूपान्तरणको चर्चा, बचतकर्ता झन् सशंकित
प्रदर्शनका क्रममा राष्ट्र बैंकका अधिकारीहरूले ठूलो रकम भएका निक्षेपकर्ताको बचत भविष्यमा सेयरमा रूपान्तरण गर्ने विकल्पबारे समेत चर्चा भइरहेको जानकारी दिएका थिए।
“ठूलो रकमको हकमा सेयरमा कन्भर्ट गर्ने कुरा पनि सुनिएको छ। केही समय लाग्ला, तर बचत फिर्ता हुन्छ भन्ने मेरो बुझाइ छ,” एक अधिकारीले भने।
तर आफ्नै बचत फिर्ता पाउने ग्यारेन्टी नहुँदा पीडितहरू यस्तो प्रस्तावप्रति समेत विश्वस्त देखिएनन्।
‘सीआईबीको काम सकियो, फाइल केन्द्रमा अड्किएको छ’
राष्ट्र बैंकका स्थानीय प्रतिनिधिहरूले अनुसन्धान प्रक्रिया पूरा भएर कागजात केन्द्रमा पठाइसकिएको दाबी गरेका थिए।
“सीआईबीको काम सकियो। आवश्यक डकुमेन्ट केन्द्रमा पठाइसकेका छौं। अब निर्णय केन्द्रबाट आउनुपर्छ,” उनीहरूको भनाइ थियो।
तर पीडितहरू भने यस्ता जवाफबाट थप निराश बनेका छन्।
एक बचतकर्ताले भने, “दुई वर्ष बितिसक्यो, अझै केही टुंगो लागेन। माथिबाट जे आदेश आउँछ त्यही गर्ने भनिन्छ। हामी अन्योलमै छौं।”
बैंकिङ प्रणालीमाथि गम्भीर प्रश्न
कर्णाली डेभलपमेन्ट बैंक प्रकरण अब केवल एउटा समस्याग्रस्त बैंकको विषय मात्र नरही समग्र बैंकिङ प्रणालीमाथिको विश्वाससँग जोडिएको विषय बन्न थालेको छ।
दाङ, बर्दिया र बाँकेका १९ शाखाका बचतकर्ताहरू एकै ठाउँमा उभिएर प्रदर्शन गर्नुले पीडितहरूको धैर्य समाप्त हुँदै गएको संकेत दिएको छ। अझ राष्ट्र बैंककै कार्यालय घेराउ गरेर ‘बचतको सुरक्षा ग्यारेन्टी गर’ भन्ने नारा लगाइनुले नियामक निकायप्रति समेत जनविश्वास कमजोर बन्दै गएको देखिएको छ।
झण्डै दुई वर्षदेखि आफ्नै रकमको प्रतीक्षामा रहेका हजारौं बचतकर्ताका लागि अब सबैभन्दा ठूलो प्रश्न एउटै छ-“हाम्रो पैसा कहिले फिर्ता हुन्छ ?”
त्यसको जवाफ भने सोमबारको प्रदर्शनपछि पनि कसैले दिन सकेन।

