काठमाण्डौं । संघीय मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मध्यान्ह १२ बजेका लागि बैठक बोलाइएको हो।
सरकारका प्रवक्ताको सचिवालयका अनुसार बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा नीतिगत विषयमा छलफल हुने कार्यक्रम रहेको छ।
बैठकले केही महत्वपूर्ण निर्णय गर्ने तयारी गरिएको पनि स्रोतले जनाएको छ।
आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक भएको केही दिनमै मन्त्रिपरिषद् बैठक बस्न लागेको भएकाले बजेट कार्यान्वयनसँग सम्बन्धित प्रारम्भिक निर्णय, विभिन्न मन्त्रालयका कार्ययोजना तथा सरकारका प्राथमिकताका विषयमा छलफल हुन सक्ने अनुमान गरिएको छ।
यस्तै, संसद्मा जारी राजनीतिक गतिरोध, प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर उत्पन्न विवाद, विपक्षी दलहरूको अवरोध तथा आगामी संसदीय रणनीतिबारे पनि बैठकमा अनौपचारिक छलफल हुन सक्ने सरकारी स्रोतहरूको भनाइ छ।
बैठकमा विभिन्न मन्त्रालयबाट पेश भएका प्रस्ताव, नियुक्तिसम्बन्धी विषय, प्रशासनिक निर्णय तथा विकास आयोजनासँग सम्बन्धित एजेन्डाहरू पनि समावेश हुन सक्ने बताइएको छ।
यद्यपि बैठकका एजेन्डाबारे औपचारिक विवरण सार्वजनिक गरिएको छैन।
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत घोषणा गरेका कार्यक्रम कार्यान्वयनको चरणमा प्रवेश गरिरहेका बेला बस्न लागेको मन्त्रिपरिषद् बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
विशेषगरी आर्थिक सुधार, प्रशासनिक पुनर्संरचना, सार्वजनिक संस्थान सुधार तथा लगानी प्रवर्द्धनसँग सम्बन्धित विषयमा सरकारको आगामी कदमबारे संकेत मिल्न सक्ने अपेक्षा गरिएको छ।
सिंहदरबार स्रोतका अनुसार बैठकपछि सरकारका केही महत्वपूर्ण निर्णय सार्वजनिक हुन सक्नेछन्।

