काठमाण्डौं । अन्तर्राष्ट्रिय स्किनकेयर तथा पर्सनल केयर ब्रान्ड ‘प्योर डर्मा’ले नेपाली बजारमा आफ्नो औपचारिक प्रवेश गर्दै व्यवसाय विस्तारको नयाँ चरण शुरु गरेको छ।
ललितपुरस्थित रोयल टुलिप होटलमा आयोजित भव्य लन्च कार्यक्रममार्फत कम्पनीले १५ वटा नयाँ उत्पादन सार्वजनिक गर्दै नेपाललाई आफ्नो रणनीतिक बजारका रूपमा घोषणा गरेको हो।
कम्पनीले वैज्ञानिक अनुसन्धान, युरोपेली उत्पादन मापदण्ड र अत्याधुनिक प्रविधिमा आधारित स्किनकेयर समाधान नेपाली उपभोक्तासमक्ष ल्याउने दीर्घकालीन योजनासहित बजार प्रवेश गरेको जनाएको छ।
बढ्दो सौन्दर्य सचेतना, छाला स्वास्थ्यप्रतिको ध्यान र व्यक्तिगत हेरचाहमा उपभोक्ता माग विस्तारलाई आधार मानेर कम्पनीले नेपाललाई उच्च सम्भावनायुक्त बजारका रूपमा मूल्यांकन गरेको छ।
लन्च कार्यक्रममा स्वास्थ्य, सौन्दर्य, व्यापार, वितरण तथा सञ्चार क्षेत्रका सरोकारवालाहरू, चिकित्सक, व्यवसायी र साझेदारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा कम्पनीले आफ्नो बजार विस्तार रणनीति, ब्रान्ड पोजिसनिङ र दीर्घकालीन व्यापार योजनाबारे विस्तृत प्रस्तुति दिएको थियो।
प्योर डर्मा नेपालका प्रमुख कार्यकारी अधिकृत प्रकाश पाठकले प्रिमियम स्किनकेयर उत्पादनप्रति नेपाली बजारमा तीव्र माग देखिएको उल्लेख गर्दै कम्पनीले गुणस्तर, सुरक्षा र प्रभावकारितामा आधारित उत्पादनमार्फत दिगो ब्रान्ड उपस्थिति निर्माण गर्ने लक्ष्य राखेको बताए।
उनका अनुसार सबै उत्पादनहरू अन्तर्राष्ट्रिय गुणस्तर परीक्षण पूरा गरी बजारमा ल्याइएका हुन्।
उनले नेपाललाई दक्षिण एसियामा स्किनकेयर उद्योगको उदीयमान केन्द्रका रूपमा देख्दै आगामी दिनमा उत्पादन विविधीकरण, उपभोक्ता शिक्षा कार्यक्रम र वितरण नेटवर्क विस्तारलाई प्राथमिकता दिने योजना रहेको जानकारी दिए।
कार्यक्रमकी प्रमुख अतिथि अभिनेत्री रेजिना उप्रेतीले विश्वस्तरीय स्किनकेयर उत्पादन नेपालमै उपलब्ध हुनु उपभोक्ता बजारका लागि सकारात्मक उपलब्धि भएको बताइन्।
उनका अनुसार यस्ता ब्रान्डहरूको प्रवेशले उपभोक्तालाई गुणस्तरीय विकल्प उपलब्ध गराउनुका साथै बजारमा स्वस्थ प्रतिस्पर्धा बढाउनेछ।

त्यसैगरी कार्यक्रममा उपस्थित चिकित्सक तथा विशेषज्ञहरू डा. सन्तोष भण्डारी, डा. रामकृष्ण श्रेष्ठ र डोनाल्ड चाले वैज्ञानिक अनुसन्धानमा आधारित उत्पादनले उपभोक्ता विश्वास निर्माण गर्न महत्वपूर्ण योगदान दिने धारणा व्यक्त गर्दै कम्पनीको सफलताको शुभकामना व्यक्त गरे।
कम्पनीले सार्वजनिक गरेका प्रमुख उत्पादनहरूमा क्ल्यारिडर्मा एक्ने स्प्रे, डर्मा बोटोक्स क्रिम, हाफो ह्यान्ड एन्ड फुट क्रिम, नुस किड्स क्रिम एसपीएफ–२५, न्युटिक कोलाजेन नाइट मास्क र प्योर बेबी क्रिम लगायतका वस्तुहरू समावेश छन्।
यी उत्पादनहरू विभिन्न उमेर समूह र छालाको आवश्यकता अनुसार लक्षित गरी विकास गरिएको कम्पनीले जनाएको छ।
प्योर डर्माले आफ्ना उत्पादनहरू गुणस्तर, सुरक्षा, प्रभावकारिता र अन्तर्राष्ट्रिय प्रमाणिकरणका आधारमा बजारमा उपलब्ध प्रतिस्पर्धी ब्रान्डभन्दा फरक रहेको दाबी गरेको छ।
कम्पनीले दीर्घकालीन ब्रान्ड मूल्य निर्माण गर्दै उपभोक्ता विश्वासमा आधारित व्यवसाय विस्तार गर्ने रणनीति अघि सारेको छ।
कार्यक्रममा उत्पादनहरूको प्रयोग विधि, बजार सम्भावना, स्वास्थ्य लाभ र उपभोक्ता सचेतनाबारे विस्तृत जानकारी पनि प्रस्तुत गरिएको थियो।
कम्पनीले आगामी चरणमा काठमाडौं, पोखरा, विराटनगर लगायत प्रमुख शहरहरूमा आफ्नो वितरण सञ्जाल विस्तार गर्दै देशव्यापी उपलब्धता सुनिश्चित गर्ने योजना सार्वजनिक गरेको छ।
विश्लेषकहरूका अनुसार प्योर डर्माको प्रवेशले नेपाली स्किनकेयर तथा पर्सनल केयर बजारमा प्रतिस्पर्धा बढाउनेछ, जसले उपभोक्तालाई अझ गुणस्तरीय र विविध उत्पादनको पहुँच दिलाउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।